Health TV Online
Health TV Online
Health TV Online

अस्पताल आफैँ बिरामी

अस्पताल आफैँ बिरामी

हेल्थ टिभी अनलाइन\ झापा : पूर्वोत्तर झापास्थित आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ।

आम्दा नेपाल, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय सम्झौताअनुसार २०६५ मङ्सिर २० गते सञ्चालनमा आएको थियो। सम्झौतामा तीनवटै निकायकोे सहमतिमा अस्पताल सञ्चालन गर्ने भनिएको थियो।

तर केही वर्ष नबित्दै समुदाय र सम्झौताका पक्षहरुको बेवास्ताले अस्पताल आफैँ बिरामीजस्तो भएको छ। स्थापनाकालमा मेचीनगर नगरपालिकाको काँकडभिट्टा, धुलावारी, ज्यामिरगढी, दुहागढी, बाहुनडाँगी र धाइजन, बुद्धशान्ति गाउँपालिकाको बुधबारे र शान्तिनगर तथा इलामको रोङ गाउँपालिकाका दुई लाख जनसङ्ख्यालाई भरपर्दो स्वाथ्योपचार सेवा पुर्याउने यो अस्पतालको लक्ष्य थियो।

साझेदारमध्येको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले स्थानीय सरकारको उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको बताए । ‘सहयोग कटौती हुँदै गयो, त्यसैकारण अस्पतालले जनशक्ति व्यवस्थापन र आधुनिक उपकरणसहितको सेवा पुर्याउन नसकेको हो’, उनले भने, ‘पर्याप्त भौतिक संरचना भएको हुँदा यसलाई फेरि व्यवस्थित गर्ने योजना अघि बढिरहेको छ।

स्थानीय सरकारको भूमिकामा रहेको मेचीनगर नगरपालिकाले अस्पताललाई वार्षिक अनुदान दिन कञ्जुस्याइँ गरेको उनको आरोप छ। मठमन्दिर, सभाहलका नाममा करोडौँ बजेट दिने नगरपालिकाले नगरको गौरवको रूपमा रहेको यो अस्पताल सञ्चालनका लागि बर्सेनि करोडभन्दा बढी अनुदान दिनुपर्ने अध्यक्ष तिम्सिना बताउँछन्।

अस्पतालका प्रशासन सहायक प्रमुख उज्ज्वलतारा थापाले स्वास्थ्य जाँचका आधुनिक उपकरण र प्रयोगशालाका सामग्री नभएका कारण बिरामी आउन छाडेको जानकारी दिए। केही समयदेखि एक मेडिकल अफिसरसहित तीन स्वास्थ्यकर्मीले अस्पताल धानिरहेको र विगतमा आफैँले सञ्चालन गर्दै आएको फार्मेसी हाल निजी क्षेत्रलाई दिएको बताए।

दाताबाट प्राप्त अस्पतालको एम्बुलेन्स पाँच वर्षदेखि बिग्रिएर थन्किएको छ। मर्मत गरेर पनि नचल्ने स्थिति रहेकाले कवाडीको मूल्यमा बेच्नुपर्ने अवस्था आएको प्रशासन सहायक प्रमुख थापाले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार