Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि बिहान ९ बजे

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि बिहान ९ बजे

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली र अंगदाताबीच मंगलवार अन्तिम ‘क्रस–म्याच’ परीक्षण गरिँदैछ।

यसअघि गरिएका सबै परीक्षणको परिणाम सकारात्मक भए पनि अन्तिम समयमा ‘क्रस–म्याच’ प्रक्रिया पुनः गरिनुपर्ने प्रा.डा. प्रेमराज ज्ञवालीले बताए। उनका अनुसार कुनै किसिमको समस्या देखिए शल्यक्रिया स्थगित गरिनेछ। ‘यो मिर्गौला प्रत्यारोपण कस्तो हुन्छ भने शतप्रतिशत नतिजा नआउँदासम्म प्रक्रिया अघि बढाउन सकिँदैन’, उनले भने।

उनका अनुसार पटकपटक ‘क्रस(म्याच’ भइसकेको अवस्थामा सामान्यतया समस्या उत्पन्न हुने सम्भावना निकै न्यून हुन्छ।

६८ वर्षीय प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी सोमवार साँझ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका छन्।

कस्तो छ अवस्था?

ओली अस्पताल भर्ना भएसँगै चिकित्सकहरूले शल्यक्रियाका लागि आवश्यक तयारी शुरु गरेका छन्।

मुटु, श्वासप्रश्वास, दाँत अनि रक्तचाप लगायतका परीक्षण भइरहेको र शरीरका सबै महत्त्वपूर्ण अंग तथा आवश्यक परीक्षण बुधवार बिहानसम्म गरिने डा. ज्ञवालीले बताए। त्यसबाहेक मंगलवार प्रधानमन्त्री ओलीको  डायालिसिस पनि गरिँदैछ।

‘मुख्य कुरा शल्यक्रिया गर्नुअघि शरीरमा कुनै पनि किसिमको संक्रमण हुनुभएन’, ज्ञवालीले भने, ‘त्यसबाहेक मंगलवार गरिने क्रस–म्याचले प्रधानमन्त्रीको शरीरले त्यो मिर्गौला स्वीकार गर्छ वा गर्दैन भन्ने कुरा स्पष्ट पार्छ।’

ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन्। यसअघि २०६४ सालमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उनको शरीरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यति बेला बुहारी नाता पर्ने अञ्जना घिमिरेले उनलाई मिर्गौला दिएकी थिइन्। यसपटक पनि ओलीलाई भाञ्जी नाता पर्ने एक महिलाले मिर्गौला दिन लागेको बताइएको छ। दोस्रो पटक गरिने प्रत्यारोपण र त्यसपछिको अवस्थालाई बढी संवेदनशील मानिन्छ।

कहिले हुन्छ शल्यक्रिया?

योजनामा कुनै परिवर्तन नआए प्रधानमन्त्री ओलीको शल्यक्रिया बुधबार बिहान ९ बजे शुरु हुनेछ।

‘हामीले सामान्यतया यही समयमा शल्यक्रिया गर्ने गरेका छौँ। भोलि पनि त्यसै गर्ने तयारी छ’, डा. ज्ञवालीले भने।

को–को छन् टोलीमा?

प्रधानमन्त्री ओलीको उपचारका लागि झण्डै २० जनाको टोली बनाइएको डा. ज्ञवालीले बताए। त्यसमा युरोलजी विभागका छ चिकित्सकको भूमिका विशेष रहने बताइएको छ।

उपचारका क्रममा कुनै पनि किसिमका व्यवधान नआओस् वा कुनै किसिमको जटिलता उत्पन्न भइहालेको अवस्थाका लागि भनेर दुई भारतीय चिकित्सक नेपाल आउने बताइएको छ।

ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी डा. अनन्तकुमार पनि आउन लागेका छन्। त्यसबाहेक अर्का मिर्गौलारोग विशेषज्ञ पनि नेपाल आउने बताइएको छ।

‘शल्यक्रिया गर्ने हामीले नै हो। उहाँहरूलाई तयारी अवस्थामा राखिएको मात्रै हो। समस्या परे सहयोग लिन सकिन्छ’, ज्ञवालीले भने।

बीबीसी नेपालीबाट

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन