Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमण फैलिइरहँदा चीनमा किन घट्यो प्रदूषण?

कोरोना संक्रमण फैलिइरहँदा चीनमा किन घट्यो प्रदूषण?

स्याटलाइट तस्विरहरूले चीनमा वायु प्रदूषणको मात्रा नाटकीय रूपमा घटेको देखाएका छन्। अमेरिकी अन्तरिक्ष निकाय नासाको नक्सामा यो वर्ष नाइट्रोजन डाइअक्साइडको तह झरेको पाइएको हो।

कोरोना भाइरस नियन्त्रण प्रयत्न स्वरूप चीनमा कारखानाहरूमा कम काम गरिएको छ र कैयौँ उत्पादकहरूले काम रोकेका छन्। चीनमा कोरोना भाइरस संक्रमण शुरु भएयता करिब ८० हजार जनामा संक्रमण भएको रेकर्ड गरिएको छ।

सवारी र कारखाना उत्सर्जन

सङ्क्रमण ५० देशमा फैलिएको छ तर अधिकांश संक्रमण र मृत्यु चीनमा भएको छ जहाँ सबभन्दा पहिला यो भाइरस देखा परेको थियो।

नासाका वैज्ञानिकहरूले नाइट्रोजन डाइअक्साइडको तह पहिले वुहान शहरमाथि प्रष्ट भएको थियो पछि देशभर नै ग्यासको तह घटेको पाइएको थियो। नाइट्रोजन ग्यास विशेषगरी सवारी साधन र कारखानाले उत्सर्जन गर्ने धुवाँमा पाइन्छ।

नासाका तस्बिरमा जनवरी र फेब्रुअरी महिनामा नाइट्रोजन डाइअक्साइडको तह घटेको देखिएको छ। नासाले सन् २०१९ को जनवरी, फेब्रुअरी र यो वर्षको जनवरी, फेब्रुअरीको तथ्यांक तुलना गरेको थियो।

नासाले चीनमा यातायात र व्यवसायिक गतिविधिमा रोक लगाइएको, दशौँ लाख मानिस क्वारेन्टाइनमा रहेको र नाइट्रोजन डाईअक्साइड घटेको समयावधि मिलेको बताएको छ।

नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा वायुको गुणस्तर अनुसन्धानकर्ता फेइ लिउले भनिन्, ‘कुनै घटनाका कारण यति ठूलो क्षेत्रमा यस्तो नाटकीय रूपमा प्रदूषण घटेको मैले पहिलोपटक देखेँ।’

सन् २००८ को आर्थिक मन्दीका बेला पनि नाइट्रोजन डाईअक्साइडको तह घटेको आफूले देखेको उनले बताइन्। तर त्यसबेला बिस्तारै मात्र घटेको बताइएको छ।

नासाका अनुसार हरेक वर्ष चिनियाँ नयाँ वर्ष पर्ने समय अर्थात् जनवरी अन्त्यतिर वा फेब्रुअरी शुरुतिरका बेला प्रदूषण केही घटेको पाइन्थ्यो। तर पर्व सकिएपछि पुनः बढ्ने गर्थ्यो।

‘यो वर्ष गत वर्षहरूका तुलनामा प्रदूषण निकै मात्रामा घटेको र लामो समयका लागि घटेको पाइयो’, लिउले भनिन्, ‘मलाई कुनै आश्चर्य लागेको छैन किनभने भाइरस संक्रमण फैलिनबाट रोक्न देशभर अपनाइएका उपायका कारण त्यसो हुन पुगेको हो।’

बीबीसी

थप समाचार