Health TV Online
Health TV Online

कोरोना भाइरस : अमेरिकाको वाशिङ्टनमा एकजनाको मृत्यु

कोरोना भाइरस : अमेरिकाको वाशिङ्टनमा एकजनाको मृत्यु

अमेरिकामा उत्तर पश्चिमी वाशिङ्टन राज्यमा कोरोना भाइरस संक्रमणले एकजनाको मृत्यु भएको छ। कोरोना भाइरसकै कारण अमेरिकामा यो पहिलो मृत्यु हो।

पहिले नै केही स्वास्थ्य समस्या रहेका पाँचको दशक उमेर भएका पुरुषको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अरू पनि त्यस्ता संक्रमितहरू देखिनसक्ने भन्दै अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको बताए।

अधिकारीहरूले अति प्रभावित इटली र दक्षिण कोरियापछि इरानका लागि पनि यात्रा प्रतिबन्ध थप्न लागिएको जनाएका छन्।

संसारभर ८५ हजारमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको र ३,००० जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कोरोना भाइरस पहिलोपटक देखा परेको चीनमा धेरैजसो संक्रमण र मृत्यु हुनेको संख्या रहेको छ।

अमेरिकामा के भइरहेको छ?

वाशिङ्टन राज्यको किङ काउन्टीमा पाँचको दशकका उमेर रहेका व्यक्तिको मृत्यु भएका स्थानीय स्वास्थ्य अधिकारीले शनिवार पुष्टि गरेका छन्। ती व्यक्तिले कुनै पनि उच्च खतरा भएको क्षेत्रमा यात्रा नगरेको उनीहरूले बताए। वाशिङ्टनका गभर्नर जे इन्सलीले नयाँ सङ्क्रमण सन्दर्भमा राज्यमा सङ्कटकाल घोषणा गरेका छ्न्।

क्यालिफोर्निया ओरेगन र वाशिङ्टनका अधिकारीहरूले प्रकोप भएका क्षेत्रमा नगएका मानिसहरू वा संक्रमण भएका सँग कुनै सम्पर्क नभएका मानिसहरूमा पनि सङ्क्रमण देखिन थालेको भन्दै चिन्ता जाहेर गरेका बेला यो मृत्यु भएको छ।

वासिङ्ट राज्यका अधिकारीहरूले एउटा स्थानीय नर्सिङ होममा कोरोनाको सङ्क्रमण फैलिएको हुन सक्ने सम्भावनामाथि अनुसन्धान गरिरहेका छन्।

वाशिङ्टनको सियाटल र किङ काउन्टीका लागि स्वास्थ्य अधिकारी डा. जेफ्री डचीनले भने, ‘नर्सिङहोममा एकजना स्वास्थ्यकर्मी र अर्की सात दशकको उमेर रहेकी स्थानीय बासिन्दामा संक्रमण पुष्टि भएको छ।’

डा. डचिनले थप २७ जना नर्सिङ होममा बस्नेहरू र २५ जना कर्मचारीमा केही लक्षणजस्तो पाइएको बताएका छन्। अधिकारीहरूले संक्रमितको सङख्या बढने ठानेका छन्।

डब्लूएचओका अनुसार अमेरिकामा अहिलेसम्म जम्मा ६२ जनामा संक्रमण पुष्टि भएको छ। यस अघि एकजना अमेरिकीको कोरोना पहिलोपटक देखिएको चीनको वुहानमा मृत्यु भएको थियो।

बीबीसीबाट

तस्विर– atlasnetwork.org

थप समाचार