Health TV Online
Health TV Online

विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा

विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा

हेल्थ टिभी अनलाइन\बागलुङ : विद्यार्थीमा आउने स्वास्थ्य समस्या तथा सचेतनाका लागि बागलुङ नगरपालिकाका पाँच विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा शुरु भएको छ।

विद्यालयका छात्रालाई लक्ष्य गरी नेपालका विभिन्न स्थानीय तहमा नर्सिङ तथा स्वास्थ्य सेवा सञ्चालन गर्ने उद्देश्यसाथ उक्त सेवा सञ्चालनका लागि बिहीबार स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखा, नगरपालिका र पाँच विद्यालयबीच सम्झौता भएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए।

विद्यामन्दिर, रुद्रेपिपल, गणेश, बौडेचौर र तितौरे माध्यमिक विद्यालयमा नर्सिङ तथा स्वास्थ्य सेवा कार्यक्रम लागू गरिएको हो। मन्त्रालयका नर्सिङ महाशाखाका अनुसार विद्यालयमा एक–एक नर्ससहित आवश्यक औषधि र सामान्य उपकरणको व्यवस्था गरिनेछ।

विद्यालयको भौगोलिक अवस्था, विद्यार्थी सङ्ख्या अधिक तथा स्वास्थ्य सेवा टाढाजस्ता सूचकका आधारमा पहिलो चरणमा ती विद्यालय छनोट गरिएको महाशाखाका प्रशासक बाला राईले जानकारी दिए। ‘हामीले विद्यालयस्तरबाटै स्वास्थ्य सेवा प्रदान गर्न नयाँ अवधारणा ल्याएका हौँ’, प्रशासक राईले भने, ‘छात्राको महिनावारीको अवस्थामा गरिने स्वास्थ्य हेरचाहदेखि आकस्मिक दुर्घटनामा प्राथमिक उपचारसम्मको व्यवस्था गरिनेछ।’

नर्सिङ महाशाखाले विद्यालयमा नर्सको दरबन्दी, औषधि तथा आवश्यक पर्ने सम्पूर्ण वस्तु उपलब्ध गराउनेछ। कार्यक्रम शुरु भएको एक वर्षपछि कार्यविधिअनुसार प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको नर्सिङ प्रशासक राईले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन