मध्यपूर्वका देशहरुमा नर्स तथा डाक्टरका लागि अवसर, पीसीएल नर्सको तलब डेढ लाख
हेल्थ टिभी अनलाइन\ काठमाडौं: मध्यपूर्वका देशहरुमा नर्स तथा डाक्टरका लागि आकर्षक सुविधासहितको अवसर भएको बताइएको छ । मनास्लु इन्टरनेशनलले मंगलबार पत्रकार सम्मेलन गरी मध्यपूर्वका धेरै देशहरुमा आम्दानी र सिप सिक्न स्वास्थ्यकर्मीका लागि ठुलो बजार रहेको बताएको हो ।
कार्यक्रममा मनास्लुका अध्यक्ष बालकृष्ण श्रेष्ठले भने,’हालसम्म खाडी मुलुक जाने भनेको कामदार मात्र भन्ने बुझिन्छ तर यी देशहरुमा दक्ष नर्स तथा डाक्टरको पनि माग भइरहेको छ । उनले थपे, ‘हामीले अहिलेसम्म १०० जना भन्दा बढी नर्सलाई रोजगारका लागि साउदी अरब पठाइसकेका छौं र उनीहरु पूर्णरुपमा सन्तुष्ट छन्।’
कार्यक्रममा श्रेष्ठले नेपाली नर्स तथा डाक्टरहरु इन्टरनेशनल अस्पतालहरुमा काम गर्न सक्षम रहेको भन्दै उनीहरुलाई यो ठुलो अवसर हुने बताए । उनले नेपालमा उत्पादन भएका सबै नर्स तथा डाक्टरले काम नपाएको र तलब पनि सन्तोषजनक नभएको भन्दै यही कुरा मध्यनजर गर्दै मनास्लुले बाहिर गएर सम्मानजनक काम गर्न चाहनेका लागि यो अवसर जुटाएको बताए ।
कार्यक्रममा श्रेष्ठले मध्यपूर्वका यी देशहरुमा डाक्टर तथा नर्सको अनुभव तथा पढाइ अनुसार नेपालको भन्दा तीन गुणा बढी तलब हुने बताए । पीसीएल मात्र गरेका नर्सको तलब ९० हजार देखि डेढ लाख सम्म तलब हुने र एमबीबीएस डाक्टरको शुरुवाती तलब २ लाख पचास हजार सम्म हुने पनि उनले कार्यक्रममा जानकारी दिए । यसैगरी एमडी गरेका डाक्टरको हकमा भने १२ लाख सम्म तलब हुने पनि उनले जानकारी दिए ।
यसरी जान चाहनेका लागि डकुमेन्ट बनाउने बाहेक अन्य खर्च नलाग्ने बताइएको छ । श्रेष्ठले यूरोप, अमेरिका, क्यानडा गएका धेरे डाक्टर नफर्किने सम्भावना हुने भन्दै यी देशहरुमा भने पीआर लिन नपाइने र वर्क परमिट अवधिभर मात्र बसेर फर्किने भएकाले पनि केही सिप सिक्ने र सम्मानजनक आम्दानी गर्ने हिसाबले निकै राम्रो रहेको पनि जिकीर गरे । वर्क परिमिट शुरुमा २ वर्षको हुने र आवश्यकता अनुसार एकपटक रिन्यू गर्न सकिने पनि उनले जानकारी दिए ।
यही विषयलाई मध्यनजर गर्दै मनास्लुले आगामी शनिबार काठमाडौंमा ‘मेडिकल करिअर इन मिडिल इस्ट’ सम्मेलन गर्दैछ । जसमा त्यस क्षेत्रका स्वास्थ्य व्यवसायी, डाक्टर एवं स्वास्थ्यकर्मीको सहभागिता हुने जनाइएको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त