Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दक्षिण कोरियामा कोरोना : ‘पर्ख र हेर’को रणनीतिमा नेपाल सरकार

दक्षिण कोरियामा कोरोना : ‘पर्ख र हेर’को रणनीतिमा नेपाल सरकार

हेल्थ टिभी अनलाइन\काठमाडाैं : नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रूपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको छ। दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा जनाइएअनुसार सोमबारसम्म कोरोना संक्रमितको संख्या ८०० नाघिसकेको छ भने आठ जनाको मृत्यु भइसकेको छ।

बढ्दो संक्रमणसँगै विभिन्न पेशा तथा व्यवसायमा रहेका नेपालीमा ठूलो सन्त्रास फैलिएको छ। अहिले करिब ४० हजारको हाराहारीमा नेपाली कोरियाको विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्। यस्तै रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने तयारीमा रहेका युवामा थप अन्योल सिर्जना गरेको छ । कामको सिलसिलामा कोरियामा रहेका नेपालीका अभिभावक पनि चिन्तामा देखिन्छन्।

ईपीएस प्रणालीबाट कोरिया पठाउने क्रममा केही सुस्तता आएको छ। कोरिया सरकारले पनि मुलुकमा संक्रमण फैलिएपछि नेपाललगायत विभन्न स्रोत मुलुकबाट कामदार ल्याउने प्रक्रिया तत्कालका लागि रोक्न चाहेको बताइएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले नेपाल ‘पर्ख र हेर’को रणनीतिमा रहेको जनाएको छ ।

‘कोरियामा कोरोनाको संक्रमण फैलिएको कुरालाई हामीले गम्भीरताका साथ लिएका छौँ’, ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले भने, ‘तत्कालका लागि कोरिया जाने क्रम केही कम भएको छ, एक\दुई दिनमा छलफल गरेर थप निष्कर्षमा पुग्छौँ।’

ईपीएस प्रणालीबाट कोरिया पुगेका नेपालीको संख्या ६५ हजारभन्दा बढी छ। भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गएकामध्ये अहिले पनि करिब ४० हजार युवा विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्। विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका क्रममा कोरियामा रहेका नेपालीको संख्या पनि उच्च छ। हालसम्म कोरियामा कुनै पनि नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छैन।

आत्तिनुपर्ने अवस्था छैन

लामो समयदेखि कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नआएको बताए। ‘समाचारमा आएअनुसार आत्तिहाल्नुपर्ने अवस्था छैन’, उनले भने, ‘कोरिया सरकारले नै थप संक्रमण नफैलियोस् भनेर सावधानी अपनाउन सन्देश प्रवाह गरिरहेको छ।’

सामाजिक सञ्जाल, स्थानीय सञ्चारमाध्यम तथा नेपालका विभिन्न सञ्चारमाध्यममार्फत कोरियामा रहेका नेपालीमाझ सचेतना पुगिरहेको उनले बताए। कोरिया सरकारका विभिन्न निकायले पनि कोरोनाका बारेमा ‘अलर्ट’ गराइराखेको जानकारी उनले दिए। ‘कोरिया सरकारको स्वास्थ्य मन्त्रालय मातहतका निकायमार्फत ‘इमरजेन्सी म्यासेज’ आइरहेका छन्’, पत्रकार पोखरेलले भने, ‘नेपाली दूतावासले पनि संक्रमण हुन नदिन विभिन्न सूचना जारी गरेको छ।’ कोरोनाको प्रकोप बढ्यो भनेर नेपाल फर्किनुभन्दा पनि सुरक्षित रूपमा यही बस्नु उचित हुने मनस्थितिमा धेरै नेपाली रहेको उनले बताए।

सतर्कता अपनाउनुस् : दूतावास

सियोलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली कामदारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चालिएका सशक्त प्रयासका बाबजुुद संक्रमण फैलिँदै गएको भन्दै दूतावासले अझ बढी सजग र सचेत हुन सुझाएको छ।

सबैभन्दा बढी संक्रमण देखा परेका कोरियाको थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा व्यवसाय र श्रम गरी बसेका नेपालीलाई  पनि दूतावासले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

कोरिया सरकारले कोरोना भाइरसको संक्रमणको शङ्का लागेमा अवैधानिक रूपमा त्यहाँ रहेका विदेशीले समेत सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच तथा उपचार गराउनसक्ने जनाएको छ। बिरामीको कानुनी हैसियतबारे नसोध्न पनि अस्पताललाई निर्देशन दिएको छ। कोरियाको अध्यागमन विभागले अवैधानिक रूपमा बसोबास गरिरहेकालाई स्वदेश नफर्काउने भनेको छ। अध्यागमनले प्रवेशाज्ञा मिति समाप्त भएको अवस्थामा पनि थप ५० दिनको प्रवेशाज्ञा थप गर्ने निर्णय गरेको छ।

रासस

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन