Health TV Online
Health TV Online

आफूलाई सवारीसाधन खरिद नगरेर गाउँपालिका उपाध्यक्षले किनिन् दुई एम्बुलेन्स

आफूलाई सवारीसाधन खरिद नगरेर गाउँपालिका उपाध्यक्षले किनिन् दुई एम्बुलेन्स

हेल्थ टिभी अनलाइन\काभ्रे : रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन किन्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरेकी छिन्।

आइतवार आयाेजित कार्यक्रममा वडा नं ५ र ११ लाई  एम्बुलेन्स हस्तान्तरण गरिएकाे हाे। कर छुटमा २१ लाख ५२० रूपैयाँमा दुई एम्बुलेन्स खरिद गरिएको हो।

ती एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने बताइएकाे छ।

उपाध्यक्ष बर्तौलाले आफ्नो सुविधाभन्दा पनि पालिकावासीको आवश्यकता मध्यनजर गरी एम्बुलेन्स खरिद गरेको बताइन्। गाउँपालिकाले उपाध्यक्षलाई गाडी खरिद गर्न गत आर्थिक वर्षमै २६ लाख रूपैयाँ छुट्याएको थियो। गाउँपालिका अध्यक्ष दलबहादुर लामाले उपाध्यक्षले उदाहरणीय काम गरेकाे बताए।

बर्तौलाले गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएदेखिनै गाउँपालिकाको कुनै पनि सवारीसाधन प्रयोग गरेकी छैनन्।

उपाध्यक्ष बर्तौलाले आफूलाई आउने इन्धन खर्च पनि सामाजिक सेवामै खर्चिएकी छिन्। इन्धनबापत वार्षिकरूपमा आउने तीन लाख टुहरा तथा अपांगता भएका व्यक्तिलाई सहयोग गरेकी हुन्।

हालसम्म १४ विद्यालयका ४८ टुहुरा तथा अपांगता भएका बालबालिकालाई जनही छ हजार २५० रूपैयाँ सहयोग गरेको उनले बताइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार