२० रूपैयाँमा बिरामी जाँच र उपचार
हेल्थ टिभी अनलाइन\झापा : मेचीनगर नगरपालिका–९ धुलाबारीस्रथित जैन होमियोपेथिक चिकित्सालयले २० रूपैयाँमा बिरामी जाँच र उपचार गर्दै आएको छ।
२५ वर्ष अघि खुलेकाे चिकित्सालयले सेवा शुरू गर्दताका टिकटकाे १० रूपैयाँ लिन्थ्यो। अहिले २० रूपैयाँको टिकट काटेपछि स्वास्थ्य जाँच गराउन र औषधि लिन पाइन्छ।
जैन तेरापन्थ युवक परिषद्ले गरिबदुःखी बिरामी स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य राखी सेवा शुरु गरेको थियो। मारवाडी समुदायको युवा संगठन जैन तेरापन्थ मेचीनगरको धुलाबारीस्थित अतिथि सदनमा दुई कोठा भाडामा लिएर सेवा दिइँदै आएको छ।
‘पैसा नभएर अहिले पनि धेरै मानिस स्वास्थ्य उपचार गर्न सकिरहेका छैनन्’, होमियोपेथिक चिकित्सालय सञ्चालन समितिका संयोजक पवन बोथराले भन्छन्, ‘उनीहरूलाई नै लक्ष्य गरी सेवा शुरु गरेका हौँ।’ हप्ताको दुई दिन सोमवार र शुक्रवार बिहान ७ः३० देखि ११ः०० बजेसम्म मात्रै सेवा दिइने संस्थामा होमियोपेथिक वैद्य केएल राजवंशीले बिरामीको स्वास्थ्य जाँच गर्ने गरेका छन्।
चिकित्सालय सञ्चालनका लागि परिषद्ले मारवाडी तथा अन्य समुदायबाट आर्थिक सहयोग संकलन गर्दै आएको छ। सहयोगबाट आएको रकमले नै चिकित्सकको टोलीलाई पारिश्रमिक, औषधि खरिद गर्ने तथा कोठा भाडा तिर्ने गरेको संयोजक बोथराले बताए। चिकित्सालय सञ्चालनमा वार्षिक चार लाख रूपैयाँ खर्च हुने गरेको छ।
चिकित्सालयबाट हालसम्म दुई लाख ५० हजारले सेवा लिइसकेकाे बताइन्छ। विशेषगरी ग्यास्ट्रिक, मधुमेह, थाइराइड, अल्सर, प्रेसर, बाथलगायत रोगको उपचार हुने वैद्य राजवंशीले बताए।
रासस




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त