Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चीनमा कोरोना भाइरस संक्रमण : हुबेमा हिँडडुल गर्न प्रतिबन्ध

चीनमा कोरोना भाइरस संक्रमण : हुबेमा हिँडडुल गर्न प्रतिबन्ध

नयाँ कोरोना भाइरस (कोभिड–१९) को संंक्रमणसँग संघर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ।

आपत् परेको वेलाबाहेक घरबाहिर ननिस्कन छ करोड मानिसलाई भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ।

हुबे प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन्। त्यहाँ आइतवारसम्म १,६५० जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। तर चीनले आइतवार अर्थात्‌ लगातार तेस्रो दिन कोरोना भाइरसको संक्रमण घटेको घोषणा गर्दै संक्रमण फैलिनबाट रोकिरहेको बताएको थियो।

नयाँ कोरोनाभाइरसको संंक्रमणबाट हुने रोगलाई कोभिड–१९ नाम दिइएको छ। यो संक्रमणमा बिरामीलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ। अर्कै घटनाक्रममा एउटा जापानी बन्दरगाहमा क्वारन्टाइनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट झन्डै ४०० अमेरिकी नागरिकलाई स्वदेश लगिँदैछ।

उनीहरूमध्ये ४० जनामा नयाँ भाइरस संक्रमण भएको अमेरिकाको न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजेजले जनाएको छ।

हुबेमा नयाँ के गरिँदैछ?

त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि उनीहरू आपत्कालीन अवस्थामा चाहिँ बाहिर निस्किन पाउनेछन्। त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरबाट एक जनालाई तीनतीन दिनमा बाहिर निस्किन अनुमति दिइनेछ।

हाउजिङहरूको एउटा प्रवेशद्वार खुला राखिनेछ। त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ गर्ने कुरा सुनिश्चित गर्नका लागि सुरक्षा निगरानी गरिनेछ। औषधि पसल, होटल, खानेकुरा बिक्री हुने पसल र चिकित्सकीय सेवाबाहेक अरू सबै कारोबार बन्द रहनेछन्।

अत्यावश्यकीय सामान ओसारपसारमा प्रयोग हुने कारलाई चाहिँ गुड्न छुट दिइनेछ।
यसैबीच अधिकारीहरूले राजधानी बेइजिङ फर्किने सबै मानिसलाई १४ दिनसम्म क्वारन्टाइनमा बस्न अथवा दण्ड भोग्न चेतावनी दिएका छन्।

भाइरस संक्रमण फैलिन नदिने प्रयासस्वरूप चीनको केन्द्रीय बैंकले बजारमा नोटहरू पठाउनुअघि भाइरसमुक्त बनाउन निर्मलीकरण गर्नेछ। प्रयोग भइसकेका नोट भण्डारण गर्नेछ।

बीबीसी नेपालीबाट

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि