कोरोना भाइरसग्रस्त वुहानबाट नेपाल फर्किँदाको खुशी
चीनको कोरोना भाइरस प्रभावित प्रान्तबाट नेपाल फर्किएका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन्।
शनिवार हुबेको राजधानी वुहानबाट नेपाल वायुसेवा निगमको चाटर्ड विमानले आइतवार सबेरै १७५ नेपालीहरूलाई काठमाण्डौं ल्याएको हो।
बिहान ३ ३८ मा त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानमा १७५ जना नेपाली रहेका छन् जसमा १७० जना विद्यार्थी, एकजना त्यहाँ रोजगार गरिरहेका व्यक्ति, दुईजना पर्यटक एवं दुई बालबालिका रहेको बताइएको छ।
उद्धार गरिएका विद्यार्थी सौरभ लुइटेलले ट्विटरमा लेखेका छन् ‘यस्तो भयावह अवस्थामा घर फर्कन पाउनुको खुसी व्याख्या गर्न सकिँदैन।’
उद्धार हुनेमा १३४ जना पुरूष र ४१ जना महिलाहरू रहेको नेपाली अधिकारीहरूले बताएका छन्।
खुसीको क्षण
नेपाल फर्केका अशोक शाहले ट्विटरमा राखेको एउटा भिडियोमा विमानभित्र सबैले ताली पिटेर खुसीयाली मनाएको देखिन्छ। घर फर्कन पाउँदाको परिवेश देखाउन खोजिएको उक्त भिडिओसँगै शाहले लेखेका छन् ‘अन्धकारबीचको खुसी, शून्यताबाट खुशीतर्फ।’
नेपाल फर्किनका लागि शुरुमा १८५ जनाले निवेदन दिएका भएपनि चार जनाले अन्तिम अवस्थामा उतै बस्ने निर्णय गरेका थिए। चार जनालाई भने उड्ने बेलामा ज्वरो देखिएका कारण रोकिएको बताइएको छ। उनीहरूलाई उतै परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ।
थप दुईजना उनीहरूकै आफन्त भएकाले उनीहरू समेत नेपाल नफर्किएको जनाइएको छ।
दुई हप्ते क्वारन्टाइन बास
आइतवार बिहान उनीहरूलाई बसमा राखेर विमानस्थलबाट सिधै क्वारन्टाइन पुर्याइएको थियो।
विश्व स्वास्थ्य संगठनको मापदण्डलाई आधार मानेर उद्धार गरिएकाहरूसँग काम गर्ने मानिसहरूले पालना गर्नुपर्ने नियमको प्रारूप समेत तयार पारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन्।काठमाण्डौं विमानस्थलमा समेत उनीहरूको स्वास्थ्य जाँच गरिएको थियो।
हुबेका छवटा विभिन्न सहरहरूबाट बेइजिङस्थित नेपाली दूतावासको पहलमा राजधानी वुहानमा भेला पारेर उनीहरूलाई नेपाल ल्याइएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।
चीनबाट ल्याइएका नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका चार भवनमा क्वारन्टाइनमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए।
श्रेष्ठले भने, ‘आइतबार दश बजेबाट उनीहरूको खरिपाटीमा थप स्वास्थ्य परीक्षण हुँदैछ।
बीबीसी नेपालीबाट
तस्विर : रासस




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त