चीनबाट स्वदेश फर्किँदै गरेका नेपाली, कोही रोमाञ्चित, कसैलाई बेचैन
कोरोना भाइरस अर्थात् कोभिड–१९बाट अति प्रभावित चीनको हुबे प्रान्तबाट उद्धार हुन लागेका नेपालीहरूले आफूहरू ‘रोमाञ्चित र बेचैन’ भएको बताएका छन्। हुबेका ६ वटा विभिन्न शहरहरूबाट बेइजिङस्थित नेपाली दूतावासको पहलमा राजधानी वुहानमा भेला भइसकेका उनीहरूले त्यस्तो बताएका हुन्।
सरकारले उद्धार गर्ने निर्णय गरेको दुई सातापछि शनिवार दिउँसो नेपालले उनीहरूको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज वुहान पठाएको छ। बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार कुनै असामान्य अवस्था नआएमा भोलि बिहान सबेरै उनीहरू नेपाल आइपुग्नेछन्।
उत्साह र बेचैनी
नेपाल आउनका लगि स्वयंसेवकहरूको सहायतामा वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जान लागेका नेपालीहरूले आफूहरू रोमाञ्चित भएको बताए। नेपाल ल्याइन लागेकामध्ये अधिकांश विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थी हुन्।
नेपाल फर्कनका लागि विमानस्थल जाने बसमा यात्रा गर्दै गर्दा ‘वीच्याट’मार्फत् कुराकानी गर्दै एकजना विद्यार्थी सलिमा कक्षपतीले भनिन्, ‘नेपाल सरकारले पहिलो पटक यसरी विशेष विमान नै पठाएर उद्धार गर्दैछ। त्यसको हिस्सा बन्न पाउँदा अलि अनौठो पनि लागिरहेको छ। हामीलाई खुसी र नेपालप्रति गर्व पनि लागिरहेको छ।’
उनीसँगै नेपाल फर्कन लागेकी अर्की विद्यार्थी श्रद्धा श्रेष्ठले चाहिँ केही बैचैनी पनि महशुस गरेको बताइन्।
उनले भनिन्, ‘यहाँ अझै हाम्रो जाँच हुनै बाँकी छ। केही भइहाल्ने पो हो कि भन्ने खालेको बेचैनी भइरहेको छ। नेपाल पुगेर पनि हामी क्वारन्टाइनमा बस्नुपर्छ, परिवारसँग भेटघाट हुँदैन भनेर पनि कस्तोकस्तो लागिरहेको छ।’ हुबेमै विद्यावारिधिरत डा. गौरव पोखरेललाई नेपाल फर्किन पाउँदा निकै खुसी लागेको छ।
उनले भने, ‘अहिले यहाँ हिउँ परिरहेको छ। यस्तो मौसममा हामी कोरोना भाइरस संक्रमित क्षेत्रबाट आफ्नै देश फर्किन लागेका छौँ। त्यो भन्दा अर्को खुसी के नै हुन्छ र! हामी निकै रोमाञ्चित छौँ।’ अर्का नेपाली विद्यार्थी एवं चिकित्सक अमीत श्रीवास्तवले पनि नेपाल फर्किन पाउँदा निकै उत्साहित बनेको बताए।
नेपाल वायुसेवा निगमले शनिवार उद्धारका लागि चीन गएको जहाज आइतवार बिहान २:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाएको छ। चीनबाट ल्याइएका नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा लगेर क्वारन्टाइनमा राखिनेछ।
बीबीसी नेपालीबाट




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त