Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वुहानबाट नेपाली ल्याउन खरिपाटीमा सरकारको ‘रिहर्सल’

वुहानबाट नेपाली ल्याउन खरिपाटीमा सरकारको ‘रिहर्सल’

भक्तपुर : सरकारले चीनको वुहानबाट ल्याइने नेपालीलाई विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रूपमा कसरी पुर्‍याउने भन्नेबारेमा पूर्वाभ्यास गरेको छ ।

चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटीस्थित विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनसम्म कसरी पुर्याउने भन्नेबारे शुक्रवार प्राविधिकसहितको टोलीले विमानस्थलदेखि खरिपाटीस्थित क्वारेन्टाइनसम्म पूर्वाभ्यास गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नाराणप्रसाद विडारीलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एम्बुलेन्स, प्राविधिकसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भक्तपुरको खरिपाटीसम्म लैजाने ‘रिहर्सल’ गरिएको हो। चीनबाट ल्याउने नेपालीलाई राख्ने क्वारेन्टाइन निर्माणको सम्पूर्ण तयारी शुक्रवार रातिसम्ममा सक्ने सचिव विडारीले बताए।

‘चीनबाट खरिपाटीमा ल्याउने १८५ विद्यार्थीमध्ये ४४ महिलालाई एउटा ब्लकमा तथा पुरुषलाई दुईवटा भवनको ब्लकमा र श्रीमान्, श्रीमती भएकालाई छुट्टै राखिने गरी व्यवस्थापन गरिएको छ’, उनले भने, ‘चिकित्सकको टोली अर्को ब्लकमा राखिनेछ। विमान चालक, सहचालक र परिचारिकालाई नगरकोटको खानेपानी तालिम केन्द्रको भवनमा बनाइएको ब्लकमा राख्ने व्यवस्था गरिएको छ।’

सचिव विडारीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै क्वारेन्टाइन बनाइएको बताउँदै एउटा कोठामा एक मिटरको दूरीमा रहने गरी तीनवटा शय्या राखिएको, चारवटा ब्लकमा १९९ वटा शय्या तयार पारेको, एक व्यक्तिका लागि दैनिक जीवनमा चाहिने सम्पूर्ण सामग्रीको व्यवस्था गरिएको जानकारी दिए।

यहाँ नेपाली सेनाको एक चिकित्सक र एक नर्सको टोलीले सुरक्षा कवचका रूपमा रहेको अन्तर्राष्ट्रिय मापदण्डकै गाउन लगाएर पूर्ण सुरक्षित रूपमा बस्ने, यहाँभित्र खानेपानी, शौचालय, खानेकुरा, नुहाउने सबै व्यवस्थापन गरी शौचालयको सेफ्टी ट्याङ्कीसमेत नयाँ बनाएर व्यवस्थापन गरिएको बताइएको छ।

शनिबार दिउँसो ३ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज नेपाली लिन चीनतर्फ जानेछ भने उक्त जहाज आइतबार राति नेपाल अवतरण हुनेछ। विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिने छ। सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १४७ वटा ‘आइसोलेशन वार्ड’ तयार पारेको छ ।

क्वारेन्टाइनमा १५ दिनसम्म राखिनेछ। त्यस क्रममा रुघा, ज्वरो आएमा त्यहाँ राखिएको एम्बुलेन्समा राखेर बिरामीलाई टेकु अस्पतालको ‘आइसोलेशन वार्ड’मा राखेर उपचार गरिने व्यवस्था गरिएको छ। कोरोना भाइरसको परीक्षण गर्ने एकमात्र मेशिन टेकु अस्पतालसँग मात्र भएको र अन्तिम परीक्षणका लागि हङकङमै पठाएर हो वा होइन भन्ने प्रतिवेदन आउनेछ।

सञ्चारकर्मीलाई अभद्र व्यवहार

भक्तपुरको खरिपाटीमा भएको ‘रिहर्सल’ को तस्बिर र भिडियो लिन गएका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले रोक लगाउनुका साथै अभद्र व्यवहार गरेका छन् । सञ्चारकर्मीलाई प्राधिकरणको मूलद्वारबाटै रोक लगाउनुका साथै सञ्चारकर्मीलाई सुरक्षाकर्मीले हातपातको प्रयास गरेपछि प्रहरी र सञ्चारकर्मीबीच निकैबेर घम्साघम्सी चल्यो।

सञ्चारकर्मीले विरोध गरेपछि क्वारेन्टाइन स्थल अगाडिसम्म प्रवेश गरे पनि क्वारेन्टाइनको तस्बिर लिन भने रोक लगाइएको थियो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि