२० वर्ष नपुगेका आमाबाट जन्मेका अधिकांश बच्चामा कुपोषण
सुर्खेत : कर्णाली प्रदेशमा कलिलै उमेरमा विवाह गरेका आमाबाट जन्मिएको अधिकांश बच्चामा कुपोषणको समस्या देखिएको छ। आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने चेतना नहुँदा कम उमेरमा बच्चा जन्माउने क्रम राेकिएकाे छैन।
कर्णाली प्रदेशको प्रदेश अस्पतालको पोषण पुनःस्थापना गृहमा आउने अधिकांश आमा २० वर्षमुनिको हुने गरेको प्रमुख प्रभा सिंहले जानकारी दिइन्। पोषणगृहको तथ्यांकअनुसार यस आर्थिक वर्षको साउनयता ६० बालबालिका उपचार गर्न पोषणगृहमा आएका छन्। तीमध्ये २१ बालिका र ३९ बालक हुन्।
शीघ्र कुषोषण भएका ३१ र मध्यम कुपोषण भएका २९ बालबालिका थिए । प्रमुख सिंहका अनुसार ४७ बालबालिका निको भएर गएका र छलाई अन्यत्र रिफर गरिएको छ । कुषोषणमा प्रायः पाँच वर्षमुनिका बालबालिका पर्ने गरेको जनाइएको छ।
आव २०७५\०७६ मा मात्रै गृहमा १०३ बालबालिका आएका थिए। ‘कुपोषण पुनःस्थापना गृहमा आएका आमा र बालबालिलाई हामीले विभाजन गरेर राख्ने गरेका छौँ, सिंहले भनिन्, ‘अघिल्लो वर्ष शीघ्र कुपोषण भएका ६५ र मध्यम कुपोषण भएका ३८ आएका थिए कोही पूर्णरूपमा निको भएर गए भने कोही भने बीचमै अभिभावकले लगे।’
कर्णालीमा बालविवाहको दर बढ्दो छ । प्रसूति हुन स्वास्थ्य संस्थामा आउने एक चौथाइभन्दा बढी किशोरी रहेको तथ्यांक छ । भेरीगंगा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी सीता शर्माका अनुसार नगरपालिकामा प्रसूति हुने झण्डै आधा संख्या २० वर्षमुनिको छ। ‘सुर्खेतमा कलिलै उमेरमा आमा बन्नेको संख्या धेरै छ। सानै उमेरमा बच्चा जन्माएका कारण पहिलो त आमा र बच्चाको ज्यान नै खतरामा पर्छ’, उनले भनिन्, ‘बाँचेका बच्चा पनि कुपोषत हुनुका साथै विभिन्न रोग तथा संक्रमणबाट ग्रसित हुने गरेका छन्।’
प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काका अनुसार अस्पतालमा प्रसूतिमा जटिलता आउने अधिकांश २० वर्षमुनिका रहेको बताए। ‘म आफैँले यो अस्पतालमा काम गरेदेखि यता धेरै डेलिभेरी महिलाको अप्रेसन गरेको छु’, उनले भने, ‘१९ वर्ष भन्दामुनिका आमाहरू धेरै छन्।’ अस्पतालमा आउने धेरै आमालाई जन्मअन्तर कम्तीमा पनि पाँच वर्ष राख्न सल्लाह दिने गरेको अस्पतालले जनाएको छ।
बालविवाहको विषयमा विद्यालय तहबाटै पाठ्यक्रममा समावेश गरेर जानकारी दिनुपर्ने डा. अर्चना कार्कीले बताइन्। अहिले गाउँगाउँमा युवायुवतीलाई छिटो विवाह गर्दा हुने परिणामबारेशिक्षा दिन जरुरी रहेकाे उनी बताउँछिन्।
रासस




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै