Health TV Online
Health TV Online
Health TV Online

जुगलको संक्रमण भाइरल हो, कोरोना होइन : जिल्ला स्वास्थ्य कार्यालय

जुगलको संक्रमण भाइरल हो, कोरोना होइन : जिल्ला स्वास्थ्य कार्यालय

मेलम्ची : जिल्ला स्वास्थ्य कार्यालयले जुगल गाउँपालिका गुम्बागाउँमा कोरोना भाइरसको संक्रमणको सम्भावना नरहेको बताएको छ।

कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँले आफूले गरेको अध्ययनबाट त्यहाँ कोरोना संक्रमणको सम्भावना नरहेको पाएको बताएका हुन्। त्यहाँ देखिएको श्वासप्रश्वाससम्बन्धी समस्या भाइरल मात्र भएको उनको दाबी छ।

चापागाइँले कोरोना संक्रमण फैलिएयता गुम्बागाउँमा चीनबाट कसैको पनि आवतजावत नभएको बताए। कार्यालयले गुम्बागाउँको अवस्था बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको उनको भनाइ छ।

गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी भाइरलको उपचार शुरु गरिएको पनि कार्यालयले बताएको छ। बिरामीमध्ये केहीलाई निको भइसकेको चापागाईँले बताए।

साथै त्यहाँको भाइरल संक्रमणबारे जाँच गर्न आफूहरूले टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यसतर्फ पठाउने जानकारी पाएको उनकाे भनाइ छ।

संक्रमण फैलिएकाे ठाउँ गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घण्टा पैदल दूरीमा पर्छ। अहिले जलविरेबाट चिकित्सकको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ त्यहाँ पुगेका छन्।

गाउँमा भाइरल संक्रमण भएपछि कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो भएको भन्दै गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरको थियाे।

दुई स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, मास्क र पञ्जा लिएर गुम्बा पुगेको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन्। बिरामी भन्दै नाम दर्ता गराएका २०१ मध्ये १५० मा रुघाखोकी र अत्यधिक ज्वरो देखिएको अध्यक्ष श्रेष्ठले बताए। १० जनाको उपचार भएको छ भने एकको अवस्था गम्भीर रहेको उनकाे भनाइ छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार