Health TV Online
Health TV Online
Health TV Online

हुबेमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चीन सरकारकाे ‘सशर्त अनुमति’

हुबेमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चीन सरकारकाे ‘सशर्त अनुमति’

कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन चीनले दिने अनुमति ‘सशर्त’ हुने जानकारी नेपाल सरकारका एक वरिष्ठ अधिकारीले दिएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले चीनमा अलपत्र परेका नेपाली नागरिकको उद्धारसम्बन्धी जानकारी लिन सोमवार स्वास्थ्य, परराष्ट्र तथा शिक्षा मन्त्रालयका सचिवहरूलाई बोलाएको थियो।

त्यसै क्रममा स्वास्थ्यसचिवले उक्त जानकारी दिएको आयोगका एक सदस्यले बताए। सरकारी अधिकारीहरूले चीनमा रहेका नेपालीलाई जतिसक्दो चाँडो फर्काइने आश्वासन दिँदै आएका छन्।

तर हुबेमा रहेका नेपालीका आफन्तहरूको छटपटी बढ्दो छ र उनीहरूले उच्च सरकारी अधिकारीहरूलाई भेटेर हारगुहार गरिरहेका छन्।
हुबेमा रहेका नेपालीका आफन्तहरूले ज्ञापनपत्र बुझाएपछि उनीहरूलाई तत्काल स्वदेश फर्काउन आइतवार राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको थियो।

सोमवार आयोग पुगेका स्वास्थ्यसचिव खगराज बरालले नेपालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार चिकित्सकीय निगरानीको व्यवस्था गरेपछि मात्र चीनले उद्धारको अनुमति दिने जानकारी गराएको आयोगका सदस्य सुदीप पाठकले बताए।

‘उहाँहरूले जानकारी गराउनु भएअनुसार चाहिँ सबभन्दा पहिले त नेपालीहरू फर्किनका निमित्त चीन सरकार तयार हुनुपर्छ’, उनले भने, ‘चीन सरकारले अनुमति दिएपछि अनि हाम्रो व्यवस्थापनको सबै कार्य पूरा भएको हुनुपर्छ।’

हाम्रो व्यवस्थापन पूरा भएको भन्ने सुनिश्चितता भएपछि मात्रै चीन सरकारले सहमति दिने उनको भनाइ छ। ‘के त्यसो भए चीनले अनुमति दिन बाँकी नै रहेछ त?’ भन्ने प्रश्नमा उनले भने, ‘एकदमै। हाम्रो तयारी पूरा नभएसम्म चीनले अनुमति दिँदैन।’

उद्धारको पहल

कोरोनाभाइरसको संक्रमण सुरु भएको हुबेमा रहेका नेपालीहरूले स्वदेश फर्कन चाहेको भन्दै हारगुहार गरेपछि १० दिनअघि सरकारले उनीहरूको उद्धार गर्ने निर्णय गरेको थियो।

त्यसका लगि चीनस्थित नेपाली दूतावासले आवेदन माग गरेकामा १८० जना नेपालीहरूले स्वदेश फर्किन निवेदन दिइसकेका छन्। तर लामो समयसम्म पनि उनीहरूलाई उद्धार गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ।

हुबेमा रहेका नेपालीका आफन्तहरूले सरकारका उच्च अधिकारीहरूलाई भेटेर हारगुहार गर्ने क्रम जारी छ। त्यसै क्रममा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भनी उनको निवास बालुवाटार पुगेको तर उनले भेट नदिएको उनीहरूको गुनासो छ।

‘सबै तिरबाट प्रयास चाहिँ भयो तर उहाँहरूले समय नै दिनुभएन। फोन पनि उठाउनुभएन’, चसीनमा रहेका एक विद्यार्थीकी लीलादेवी भट्टराईले भनिन्, ‘तर पनि सकिन्छ कि भेट्न भनेर गयौँ तर भेट्न दिनु नै भएन। हामी अभिभावकहरूको आक्रोश झन् बढेको छ।’

तर प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले भने हुबेमा रहेका नेपालीका आफन्तहरूले प्रधानमन्त्रीलाई भेट्न चाहेको जानकारी सचिवालयलाई नगराएको बताए। उनले चीनमा रहेका नेपालीहरूबारे प्रधानमन्त्री ओली संवेदनशील रहेको र उद्धारका लागि आवश्यक कार्य भइरहेको जानकारी दिए।

चीनमा रहेका नेपाली र उनीहरूका आफन्तको छटपटी बढिरहेका बेला बेइजिङस्थित नेपाल दूतावासका अधिकारीहरूले चाहिँ अहिले पनि आफूहरू नेपाल सरकारको निर्णय कुरिरहेको बताएका छन्।

बीबीसी नेपालीबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार