Health TV Online
Health TV Online
Health TV Online

वर्षौँदेखि पाठेघर खस्ने समस्या लिएर बस्न बाध्य छन् जाजरकोटका महिला

वर्षौँदेखि पाठेघर खस्ने समस्या लिएर बस्न बाध्य छन् जाजरकोटका महिला

जाजरकोट :  जिल्लाका धेरै  महिला वर्षौंदेखि पाठेघर खस्ने पीडा लिएर बस्न बाध्य छन्। आर्थिक अवस्था कमजोर भएका घरपरिवारका महिला रोग पालेर बस्ने गरेको पाइएको छ।  ५० शय्याको जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा  महिलाको उपचार हुन सकेकाे छैन।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जाजरकोटमा करिब ४० हजार महिला प्रजनन उमेरका छन् । तीमध्ये करिब ५० प्रतिशत पाठेघरको समस्याबाट पीडित रहेका जाजरकोट अस्पतालका डा. भूपेन्द्र मल्लले बताए। उनका अनुसार बर्सेनि पाँच हजार महिलाले सन्तान जन्माउँछन्। पाठेघरको समस्याबाट १५ देखि ८० वर्षसम्मका महिला पीडित रहेको उनले बताए।

पाठेघर खस्ने समस्याबाट पीडित बनेको १३ वर्षसम्म उपचार नपाएको नलगाड नगरपालिका–६, कि गुलाबी ओलीले बताइन्। ‘पहिलो र दोस्रो सन्तान जन्माउँदा थाहै भएन, तेस्रो जन्माएपछि समस्या देखियो’ उनले भनिन्, ‘अहिले त सामान्य काम गर्न पनि समस्या छ।’

उनकी छिमेकी ५९ वर्षीया कमला ओलीले पाठेघरको समस्याका कारण लामो समयदेखि थला परेको बताइन्। शुरुशुरुमा सबैलाई यस्तै होला भन्ने ठानेकी उनले लाजकै कारण कसैलाई नभनेको बताइन्। १४ वर्षको उमेरमा विवाह गरेकी उनका सात सन्तान छन् । दुई वर्षयता सामान्य काम गर्न पनि गाह्रो हुने गरेको उनले बताइन्।

गाउँमा उनीहरूजस्तै पाठेघरको समस्या भोग्ने ३० भन्दा बढी महिला छन् । ‘पाठेघरपीडित महिलाको उपचारका लागि अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउनुको विकल्प छैन’, डा. मल्लले भने, ‘अधिकांश बिरामीलाई बाहिरका सुविधायुक्त अस्पतालमा रिफर गर्ने गरिएको छ।’ पछिल्लो पाँच वर्षमा विभिन्न संघसंस्थाको सहयोगमा करिब एक हजार महिलाको पाठेघरको शल्यक्रिया गरिएको र करिब ७०० ले रिङ प्रेसरी राखेका उनले जानकारी दिए।

उपचार खर्च नहुँदा अधिकांश महिला जिल्लामा आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरमा मात्र उपचार गराउन बाध्य छन्। गत साता छेडागाड नगरपालिकाका १२४ महिलाले शिविरमा पाठेघरको उपचार गराए। नगरपालिकाले कोहलपुर मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा रामविश्वास रायको टोलीलाई मनघाटमा ल्याएर शिविर चलाएकाे थियो। कतिपयले आफ्नो समस्या थाहा पाएर पनि शल्यक्रिया गर्न नमानेको डा. रायको भनाइ छ ।

‘पाठेघर बाहिर निस्केपछि घस्रिएर फाेहाेर लाग्दा इन्फेक्सन हुने कारण शल्यक्रिया गर्नुपर्छ’, उनले भने, ‘कतिपयले लाजका कारण शल्यक्रिया गर्न मान्दैनन्।’ घरायसी कामको बोझ, गर्भवती समयमा गह्रौँ भारी बोक्नु, कुपोषण हुनु र कम उमेरमै धेरै सन्तान जन्माउनुलगायत कारण  पाठेघर खस्ने समस्या आउने उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार