हात्तीपाइलेकाे औषधि सेवन नगरे सरकारी सेवाबाट वञ्चित
बाँके : जिल्ला समन्वय समिति बाँकेले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवासुविधा नदिने निर्णय गरेको छ।
बाँकेमा सर्वसाधारणले हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न आनाकानी गरेपछि जिल्ला समन्वय समिति बाँकेले यस्ताे निर्णय गरेको हो। समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले उक्त रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवासुविधा नदिने निर्णय गरेको बताए।
‘पटकपटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर कठोर निर्णय गर्नुपर्यो’, उनले भने। शहरमा बसोबास गर्ने शिक्षित समुदाय नै औषधि सेवन गर्न नमान्ने गरेकाले कडा निर्णय गर्नुपरेको उनकाे भनाइ छ।
बाँकेको ग्रामीणभन्दा उपमहानगरभित्र औषधि सेवन गर्ने न्यून छन् । ‘सामान्य मात्रै होइन, शिक्षितले नै औषधि खान मान्दैनन्’, जिल्ला स्वास्थ्य कार्यालय बाँकेले स्वास्थ्य अधिकृत अंगतबहादुर शाहीले भने, ‘यसले अभियान प्रभावित भइरहेको छ।’
कोहलपुर र उपमहानगरपालिकामा हात्तीपाइलेको जोखिम उच्च छ। नवौँ पटक खुवाउँदा नियन्त्रण नभएपछि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान बाँकेमा दशौँ पटक आगामी शनिबार खुवाइँदैछ। बाँकेका चार लाख व्यक्तिलाई औषधि खुवाइनेछ।
उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले शहरका शिक्षित व्यक्तिले औषधि सेवन नगर्दा रोग नियन्त्रणमा चुनौती देखिएकोले अभियान सफल बनाउन स्थानीय तह कडाइसाथ लागेको बताए। डा. राणाले औषधि खुवाउने दर बढाउने वडालाई पुरस्कृत गर्दै बजेट बढाउने घोषणा गरेका छन्।
रोग निर्मूल भइसक्नुपर्नेमा अवस्था डरलाग्दो देखिएको स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति दुर्गा गौतमले बताए। औषधिको प्रयोगबारे फैलिएको गलत सूचना प्रमुख चुनौती भएको स्वास्थ्य अधिकृत शाहीले बताए। यो औषधि खाँदा बिरामी हुने, वाकवाकी लाग्ने भन्ने गलत सूचना फैलिएकाले औषधि खान नमानेको उनको भनाइ छ।
बाँकेमा २०६७ देखि हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ। शुरुआतमा बाँकेमा ९१ प्रतिशतले औषधि खाएका थिए।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित