Health TV Online
Health TV Online
Health TV Online

‘चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउन तयारी पूरा भयो, तर मिति यकिन छैन’

‘चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउन तयारी पूरा भयो, तर मिति यकिन छैन’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी पूरा भएको बताएका छन्। तर उनीहरूलाई कहिले नेपाल फर्काइन्छ भन्ने तय नभएको उनले जानकारी दिए।

मंगलबार संसद् बैठकमा उनले संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउन सोमवारको मन्त्रिपरिषद् बैठकबाट आदेश जारी भएको बताए।

मन्त्री ढकालले सरकारले चीनबाट नेपाल फर्किन चाहनेलाई त्यहाँको दूतावासमा फारम भर्ना लगाएको र अहिलेसम्म १८० जनाले फर्म भरेको जानकारी दिए।

चीनमा परीक्षण गरेर संक्रमित नभएको पुष्टि भए मात्र नेपाल ल्याउने मन्त्री ढकालले बताए।। ‘त्यहाँ जाँच गर्दा पोजेटिभ भेटिए चीन सरकारले नै पठाउँदैन’, उनले भने, ‘संक्रमण नभएको पुष्टि भएपछि पनि उनीहरूलाई सावधानीका साथ ल्याउँछौँ। परीक्षण गर्दा संक्रमण नदेखिए पनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नैपर्ने उनको भनाइ छ।

वुहानबाट नेपालीलाई ल्याउन सोचेजस्तो सहज नभएको उनले बताए। वुहानमा सार्वजनिक यातायात नचलेको र विमानस्थलसमेत बन्द भएकाले चीन सरकारसँगको समन्वयविना यो काम असम्भव रहेको उनको भनाइ छ।

चीनबाट आउनेहरूबाट अरुमा कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर सचेतता अपनाएको मन्त्री ढकालले बताए। यो अवधिमा कोरोना भाइरसका संक्रमण फैलिन नदिन अपनाएको उपाय यहाँका लागि सान्दर्भिक नहुने उनको भनाइ छ।

‘चीनमा २० हजारमा संक्रमण फैलिएको छ। हाम्रोमा १३ जनामा आशंका गरेर परीक्षण गर्दा नेगेटिभ देखियो’ उनले भने, ‘चीन जसरी नाच्छ, त्यही तालमा गोडा उचाल्नुपर्छ भन्नेमा नेपाल सरकार विश्वास गर्दैन’ ढकालले भने।

फाइल फोटो

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार