रेडियोथेरापी सेवा नहुँदा वीरमा क्यान्सरका बिरामी आधा घटे
काठमाडौं: सधैं बिरामीको भिडभाड हुने वीर अस्पतालमा क्यान्सरका बिरामी भने आधा भन्दा बढीले घटेका छन्। क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने रेडियोथेरापी सेवा नहुँदा अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या घटेको हो ।
क्यान्सर दिवसको पूर्व सन्ध्यामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वीर अस्पतालमा कार्यरत विज्ञहरुले यस्तो बताएका हुन्। कार्यक्रममा वीर अस्पतालमा कार्यरत क्यान्सर विशेषज्ञ डा सन्ध्या चापागाईले विगत दुई वर्ष यता बिरामी आधाले घटेको बताइ्न। उनले भनिन, ‘अघिल्ला वर्षहरुमा १५ सय देखि २ हजारको हाराहारीमा बिरामी सेवा लिन आउनेमा हाल वर्षेनी ७ सय जति मात्र बिरामीले सेवा लिएका छन्। यसको मुख्य कारण भनेकै रेडियोथेरापी सेवा नहुनु हो ।’
वीर अस्पतालमा रहेको पुरानो रेडियोथेरापी मेशिन बिग्रिएपछि नयाँ जडान गरिएको छैन जसका कारण बिरामी मारमा परेका हुन्। सरकारले अत्याधुनिक टोमोथेरापी मेशिन ल्याइसकेको भए पनि राख्ने ठाउँको अभाव देखाउँदै सञ्चालनमा ल्याउन सकेको छैन। वीर अस्पतालमा रेडियोथेरापी मेशिन नहुँदा विरामीलाई किमोथेरापी एवं शल्यक्रिया गरेपछि रेडियोथेरापी सेवा लिन अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको विशेषज्ञहरुको भनाई छ । जसले गर्दा बिरामी बाध्य भएर अन्यत्र जान थालेका छन्।
कतिपय अवस्थामा त आर्थिक अवस्था कमजोर भएका बिरामी वीरमा सेवा नहुने भएपछि सिधै घर फर्किने गरेको पनि उनीहरुकाे भनाई छ । यसैगरी कार्यक्रममा वीर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुदत्त पौडेलले क्यान्सरको सेवा विस्तार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एनसीडी तथा मेन्टल हेल्थ शाखा प्रमुख डा फणिन्द्र बरालले क्यान्सरको उपचार सेवा भन्दा पनि प्रिभेन्टिभ पक्षलाई अझ बढी जोड दिनुपर्ने बताए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा