डाेटीमा कुष्ठराेगी बढेकाे बढ्यै
डाेटी : जिल्लामा कुष्ठरोगीको संख्या बढिरहेको छ। सात महिनायता चार नयाँ कुष्ठरोगीको संख्या थपिएको छ। अहिले जिल्लामा सातजना कुष्ठरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।
गत आर्थिक वर्षको अन्तिम असारसम्म जिल्लामा तीन कुष्ठरोगी रहेकामा चालु आवको पुस मसान्तसम्ममा थप चारजना फेला परेको कार्यालयले जनाएको छ। केआईसिंह गाउँपालिकामा एक, शिखर नगरपालिकामा दुई, पूर्वीचौकी गाउँपालिकामा एक, दिपायल–सिलगढी नगरपालिकामा दुई र बडीकेदार गाउँपालिकामा एक कुष्ठरोगी फेला परेका हुन् ।
स्वास्थ्य कार्यालयको रेकर्डमा आउन बाँकी रहेका दुई नयाँ कुष्ठरोगी फेला परेको क्षय कुष्ठरोगसम्बन्धी फोकल पर्सन उद्धवसिंह ठगुन्नाले बताए। ‘हाम्रो रेकर्डमा आउन बाँकी रहेका दुईजना कुष्ठरोगीबारे जानकारी आएको छ’, उनले भने, ‘सबै अध्ययन गरेर हामी रेकर्डमा राख्नेछौँ।’
जिल्लामा कुष्ठरोगीको संख्या थपिँदै जान थालेपछि स्वास्थ्य कार्यालयले चालु आवमा जिल्लाका नौवटै स्थानीय तहमा कुष्ठरोगका बिरामी पहिचानका लागि ‘स्क्रिनिङ क्याम्प’ गर्ने योजना रहेको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख तथा जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए।
नेपाल सरकारले कुष्ठरोग मुक्त नेपालको परिकल्पना गर्दै सन् २०२० मा कुष्ठरोग प्रकोप दर प्रति १० हजार जनसंख्यामा एकभन्दा कम गर्ने लक्ष्य राखेको छ। कुष्ठरोगीको संख्या थपिएपछि उक्त लक्ष्य चुनौतीका रूपमा लिइएको छ। कुष्ठरोगका बिरामीलाई देवीदेउता, पिशाच लागेको भन्ने अन्धविश्वास र विभेदको अन्त्य गरी ससम्मान स्वास्थ्योपर गर्ने वातावरण सिर्जनाका लागि चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै