Health TV Online
Health TV Online
Health TV Online

‘सूर्तीजन्य पदार्थमुक्त’ नगर बनाउने अभियानमा भरतपुर महानगर

‘सूर्तीजन्य पदार्थमुक्त’ नगर बनाउने अभियानमा भरतपुर महानगर

चितवन: भरतपुर महानगर आफना नागरिकलाई स्वस्थ बनाउने अभियानमा अघि जुट्न थालेको छ । शुक्रबार महानगरले आयोजना गरेको एक कार्यक्रममा उसले महानगरलाई सूर्तीजन्य पदार्थमुक्त नगर बनाउने घोषणा गर्दै आठ बुँदे एजेण्डा अघि सारेको हो ।

नसर्ने रोग विरुद्ध लड्न एसिया प्रशान्त क्षेत्रका १२ देशका नगर प्रमुखहरुको अलायन्स बनाएसँगै भरतपुर महानगर पनि यसमा लागिरहेको छ । भरतपुर महानगरकी प्रमुख रेनु दाहालले एक वर्षभित्र भरतपुरलाई सूर्तीजन्य पदार्थमुक्त शहर बनाउन विभिन्न कार्यक्रम अघि सारेको बताइन्। उनले भनिन, ‘महानगरका नागरिकको स्वास्थ्यलाई प्रत्यक्ष हानी गर्ने सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न महानगरले कुनै कसर बाँकी राख्दैन्।’

एशिया प्यासिफिक सिटिज अलायन्स फर टोबाको कन्ट्रोल एण्ड एनसीडीज नाम दिइएको उक्त समूहमा भरतपुर पनि सदस्य नगर हो ।  यसकै पाँचौ एपीक्याट सम्मेलन आगामी डिसेम्बरमा भरतपुरमा हुँदैछ । उक्त अन्तराष्ट्रिय सम्मेलन हुनुअघि महानगरले भरतपुरलाई सूर्तीजन्य पदार्थ मुक्त नगर घोषणा गर्ने लक्ष्य लिएको छ । त्यसकै लागि महानगरले पहिलो चरणमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने र दोस्रो चरणमा बजार अनुगमन एवं कारवाहीसम्ममा जाने जनाएको छ ।

महानगरले पहिलो कार्यक्रम अनुसार एक साताभित्र सबै सरकारी कार्यालयमा सूर्तीजन्य पदार्थ निषेधित क्षेत्र लेखिएको स्टिकर अनिवार्य रुपमा टाँस्न लगाउने साथै सार्वजनिक स्थल र यसको १ सय मिटर वरपर सूर्तीजन्य पदार्थ विक्रिवितरण गर्न निषेध गर्ने लगायतका कार्यक्रम अघि सारेकाे छ ।

बैठकमा स्वास्थ्य मन्त्रालयका कानून उपसचिव पुष्करराज नेपालले सुर्तीजन्य पदार्थ सेवनकै कारण वर्षेनी २७ हजार बढी मानिसको मृत्यु हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले भने, ‘कानून छ यसलाई कार्यान्वर्यन गरे मात्र पुग्छ ।’

बैठकमा सहभागी वडा अध्यक्षहरुले सूर्तीजन्य पदार्थसँगै मदिरा नियन्त्रणमा पनि लाग्नुपर्ने बताएका थिए । बैठकमा भरतपुरका सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, उद्योग संघका प्रतिनिधी, सरसफाई अभियन्ता लगायतको उपस्थिती थियो । नेपालमा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानून भए पनि यसको कार्यान्वर्यन पक्ष भने निकै फितलो देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार