विश्वव्यापी बन्दै कोरोना भाइरस, कुन देशमा कति संक्रमित?
चीनमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी हुन थालेको छ। चीनसँगै करिब दुई दर्जन अन्य देशमा पनि यो भाइरसको संक्रमण देखिएको हो ।
कोरोना भाइरसका कारण अहिलेसम्म १७० जनाको मृत्यु भइसकेको र अरु सयौँ व्यक्ति संक्रमित भएको पुष्टि भइसकेको छ। यो भाइरस चीनको मध्य क्षेत्रमा पर्ने वुहान शहरमा सबैभन्दा पहिले देखिएको थियो।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार दिएको जानकारी अनुसार कोरोना भाइरस अहिलेसम्म सात हजार ७११ जनामा देखिएको पुष्टि भएको छ।
चीनबाहेक यी देशमा पनि संक्रमण फैलिएको छ–
अष्ट्रेलिया
अष्ट्रेलियामा यस रोगका सात जना बिरामी भेटिएका छन्। तीमध्ये सात जना चीनको वुहानबाट गएका हुन्। सिड्नी, मेलबर्न र गोल्ड कोस्टस्थित विभिन्न अस्पतालमा प्रभावितहरूकोउपचार भइरहेको छ। सबैभन्दा पछाडि भेटिएका ४४ वर्षीय बिरामी वुहानबाटै पुगेका हुन्। उनको अवस्था स्थिर रहेको जनाइएको छ ।
कम्बोडिया
कम्बोडियोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आफ्नो देशमा कोरोना भाइरस संक्रमित बिरामी सवैभन्दा पहिला गत सोमबार भेटिएका हुन्। उनी वुहानबाट आएका ६० वर्षीय पुरुष हुन्।
हङकङ
यहाँ अहिलेसम्म १० जनामा कोरोना भाइरसको पुष्टि भएको छ। तीमध्ये छ जना चिनियाँ सहर वुहानबाट हङकङ गएका थिए ।
भारत
भारतको दक्षिणी क्षेत्रमा पर्ने केरलामा कोरोनाको पहिलो बिरामी बिहीबार भेटिएको अधिकारीहरुले पुष्टि गरेका छन्। ती व्यक्ति वुहान विश्वविद्यालयका विद्यार्थी हुन् भने उनलाई अहिले अस्पतालमा छुट्टै राखेर उपचार गराइएको छ। अधिकारीहरूका अनुसार उनको अवस्था अहिले स्थिर रहेको छ र नजिकबाट नियालिएको छ।
जापान
जापानका स्वास्थ्य अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म ११ जना कोरोना भाइरसका बिरामी दर्ता भएका छन्। तीमध्ये दुई जनाबाट मानिसमा सरेर बिरामी भएका हुन्। वुहानबाट पर्यटक लिएर आएको बसका चालक र पर्यटक पथप्रदर्शक पनि बिरामी भएका छन्।
मकाउ
मकाउ चिनियाँ पर्यटकहरूका लागि लोकप्रिय मानिन्छ। यहाँ मंगलबारसम्म सात जनामा कोरोना भइरसको संक्रमण भएको पुष्टि गरिएको छ।
मलेसिया
मलेसियामा बिहीबार थप एक जना गरी अहिलेसम्ममा आठ जनामा यस भाइरसको संक्रमण देखिएको छ। उनीहरू सबै चिनियाँ नागरिक रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल
नेपालमा चीनको वुहानबाट आएका ३२ वर्षीय एक युवामा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ। उनलाई पर्याप्त परीक्षण र उपचार गरेर अस्पतालबाट फिर्ता पठाइएको छ।
फिलिपिन्स
फिलिपिन्समा बिहीबार नै यस रोग लागेका पहिलो बिरामी भेटिएका छन्। ३८ वर्षीया ती महिला वुहानबाट गएकी हुन्। उनमा ठूलो समस्या भने नरहेको पाइएको छ। उनी जनवरी २१ मा फिलिपिन्स आएकी थिइन्। उनलाई चार दिनसम्म अस्पतालमा परीक्षण र उपचार गराइएको थियो।
सिंगापुर
चीनको छिमेकी मुलुक सिंगापुरमा अहिलेसम्म १० जना कोरोनाका बिरामी रहेका छन्। उनीहरु सबै जना वुहानबाटै आएका व्यक्ति हुन् ।
दक्षिण कोरिया
यहाँका सञ्चार माध्यमहरुले जनाएअनुसार देशभर अहिलेसम्म चार जनामा संक्रमण भएको छ। तीमध्ये तीन जना पुरुष र एक जना महिला छन् भने उनीहरू सबैजना वुहानबाट गएका हुन्।
श्रीलङ्का
यहाँ गत सोमबार पहिलो पटक एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। ती व्यक्ति ४३ वर्षीय चिनियाँ पर्यटक हुन्। उनी चीनको हुबेई प्रान्तबाट श्रीलङ्का आएको अधिकारीहरुले जनाएका छन्।
ताइवान
ताइवानमा आठ जनामा यो रोग देखिएको छ। तीमध्ये दुई जना चिनियाँ महिला छन्। एउटा पर्यटकहरूको टोलीका साथ उनीहरु ताइवान आएका थिए।
थाइल्याण्ड
थाइल्याण्डले आफ्नो देशमा १४ जनामा कोरोना भाइरसको संक्रमण भएको घोषणा गरेको छ। यो संख्या चीनबाहेक अन्य देशमा भेटिएका सङ्क्रमित हरु मध्ये सबैभन्दा धेरै हो । स्वास्थ्य अधिकारीहरूका अनुसार तीमध्ये ६ जना चिनियाँ पर्यटक हुन्। उनीहरू वुहानबाटै गएका एउटै परिवारका व्यक्ति रहेका छन्। उनीहरू छ वर्षदेखि ७० वर्षसम्मका रहेको अधिकारीहरूले जनाएका छन्।
भियतनाम
भियतनाममा पनि दुई जनामा यो रोग देखिएको छ। संक्रमितमध्ये एक जना पुरुष चीनको हो चि मिन्ह सहर हुँदै यही महिनाको शुरुमा वुहानबाट आएका व्यक्ति हुन्। उनीबाटै उनका छोरामा त्यो भाइरस सरेको हुनसक्ने सम्भावना रहेको बताइएको छ।
क्यानडा
क्यानडामा दुई जनामा कोरोना भाइरस देखिएको पुष्टि गरिएको छ। अर्का एक जनामा पनि सो भाइरस भएको आशंकामा परीक्षण भइरहेको छ।
अमेरिका
स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा अहिलेसम्म पाँच जनामा यो रोगको संक्रमण पुष्टि भएको छ। उनीहरू सबैजना हालै वुहानबाट गएका हुन्। उनीहरूमध्ये दुई जना क्यालिफोर्निया भेटिएका हुन् भने अरु एक\एक जना अरिजोना, सिकागो र वासिङ्टन राज्यमा देखिएका हुन्।
फिनल्याण्ड
चीनको वुहानबाट गका एक जना पर्यटकमा बुधबार कोरोना भाइरसको संक्रमण देखिएको फिनल्याण्डका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। ती व्यक्तिलाई अहिले अस्पतालमा छुट्टै राखेर उपचार गरिँदैछ।
फ्रान्स
फ्रान्समा अहिलेसम्म पाँच जनामा यो रोगको सङ्क्रमण देखिएको छ। युरोपेली देशमध्ये फ्रान्समा नै पहिलो पटक यो रोगको संक्रमण पुष्टि भएको हो । सबैभन्दा पछाडि एक जना चिनियाँ पर्यटकको छोरीमा पनि यो देखिएको छ। उनको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्।
जर्मनी
जर्मनीमा अहिलेसम्म चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो मानिसबाट मानिसमा सरेको पाइएको छ। चिनियाँ साथीहरूले आयोजना गरेको एउटा तालिममा सहभागी भएका एक जना ३३ वर्षीय व्यक्तिबाट अरूलाई सरेको चिकित्सकहरूको भनाइ छ। बिरामी भएका चारै जनालाई म्यूनिक अस्पतालमा छुट्टै राखेर उपचार गराइएको छ।
यूएई
चीनको वुहानबाट केही दिनअघि आएका चार जना चिनियाँलाई कोरोना भाइरसको संक्रमण भएको यूएईका स्वास्थ्य अधिकारीहरूले बुधबार पुष्टि गरेका छन्।
रासस





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित