Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरसबारे विश्व नै सावधान हुनुपर्छ : डब्लुएचओ

कोरोना भाइरसबारे विश्व नै सावधान हुनुपर्छ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ।

संगठनका स्वास्थ्य आपतकाल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्।

डा. माइक र्‍यानले घातक भाइरससँग जुझ्न चीनले चालेका कदमहरूको प्रशंसा गरे। ‘चुनौती निकै ठूलो छ तर त्यसको सम्बोधनका लागि देखाइएका प्रतिक्रिया पनि व्यापक छन्’, उनले भने। संगठनले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ।

संगठनले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी फैसला गर्न बिहीवार बैठक डाकेको छ।

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले भने, ‘संक्रमणका लगातार बढ्दा घटना अनि चीन बाहिर पनि मानिसबाट मानिसमा सरेका प्रमाण निश्चय नै निकै चिन्ताजनक छन्। हालसम्म चीन बाहिर संक्रमितको संख्या थोरै नै छ। तर त्यो बढ्ने सम्भावना छ।’

हालसम्म ७० जनाको ज्यान गएको छ भने संक्रमितको संख्या ७ हजार पुगेको छ। संक्रमित प्रत्येक पाँच जनामध्ये एक जनामा न्युमोनियाजस्ता गम्भीर समस्या देखिएका छन्। चीनबाहिर १६ देशमा यसको संक्रमण पाइएको छ।

डब्लुएचओका डा. माइक र्‍यानका अनुसार संक्रमण महत्त्वपूर्ण चरणमा पुगेको छ। यो भाइरस संक्रमणको कुनै स्पष्ट उपचार वा खोप छैन। तर कैयौँ मानिसहरू उपचारपछि निको भएका छन्।

र्‍यानले चीन जान विज्ञहरूको एक अन्तर्राष्ट्रिय टोली जम्मा पारिँदै गरेको र सो टोलीले उक्त रोग कसरी सर्छ भन्नेबारे थप जानकारी बटुल्ने बताए।

‘हामी यो संक्रमणको एक महत्त्वपूर्ण चरणमा छौँ। यसको फैलावट अझै पनि रोक्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ’, उनले भने।

यसबीच अस्ट्रेलियामा वैज्ञानिकहरूले प्रयोगशालामा उक्त कोरोना भाइरसको विकास गरेका छन् जसले यसको सुरुवाती रोग जाँच प्रक्रिया निर्माणमा सघाउ पुग्न सक्छ।

यसै साता संगठनका महानिर्देशक टेड्रोस एड्हानोमले चीन भ्रमण गरेका थिए। उनले त्यहाँ संक्रमित अधिकांश मानिसमा सामान्य लक्षणमात्र देखा परेको तर २० प्रतिशतमा भने त्यसले न्युमोनिया तथा श्वासप्रश्वासको गम्भीर समस्या उब्जाएको देखिएको बताएका छन्।

उनले चीनलाई विश्वको समर्थन र ऐक्यबद्धता आवश्यक रहेको बताए। विगतका संक्रमणबाट पाठ सिकेर विश्वले काम गर्नुपर्ने उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार