असफल हात्तीपाइलेविरुद्धकाे अभियान : १० वर्षमा घट्यो १० प्रतिशत
नेपालगञ्ज : ठूलो संख्याका सर्वसाधारणले औषधि सेवन नगर्दा बाँकेमा हात्तीपाइलेविरुद्धको अभियान नै ‘असफल’ भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लामा २०६७ देखि हात्तीपाइले रोगविरुद्ध औषधि सञ्चालन गर्दै आएको कार्यक्रम प्रभावकारी नभएको हो।
जिल्लामा १० वर्ष अभियान सञ्चालन गर्दा जिल्लामा १० प्रतिशत मात्र बिरामी घटेका छन्। पहिलो चरणको अभियान सञ्चालनमा जिल्लामा २१ प्रतिशत रोगी थिए। अहिले १० प्रतिशत रहेको तथ्यांक छ। गत वर्ष नेपालगञ्ज उपमहानगरपालिका–३ मा ६ प्रतिशतले मात्रै हात्तीपाइलेविरुद्धको औषधि खाएका थिए।
यही माघ २५, २६ र २७ गते बाँकेमा दशौँ पटक औषधि सेवन गराइँदैछ। यसपालि हरेकलाई औषधि खुवाउने रणनीतिअनुसार उपमहानगरपालिकाले योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी गरेर ‘कसरी औषधिको कभरेज बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको छ ।
उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले औषधि सेवनको ‘कभरेज’ बढाउनेलाई पुरस्कृत र कम खुवाउनेलाई दण्डित गर्ने बताए। ‘जसले ८५ प्रतिशतभन्दा बढी खुवाउँछ, उसलाई पुरस्कार दिन्छु’, उनले भने, ‘त्यसको वडामा बजेट थपिदिन्छु। जुन वडाले ६५ प्रतिशत औषधि खुवाउन सक्दैन, त्यसलाई कारवाही गर्छु।’
उपमहानगरपालिकामा गत वर्ष ४० प्रतिशतले औषधि खाएको जिल्ला स्वास्थ्य कार्यालयका हात्तीपाइले रोगविरुद्धको सम्पर्क अधिकृत दुर्गा गौतमले जानकारी दिए। गत वर्ष जिल्लाको ‘कभरेज’ ५४.९८ प्रतिशत थियो। पहिलो वर्ष ८५.७४ प्रतिशतले औषधि सेवन गरेका थिए ।
पहिलो चरणमा भएका केही गल्तीले गर्दा दोस्रो चरणदेखि जिल्लावासीले औषधि खान कम गरिदिएका थिए। दोस्रो वर्ष ४७.४३ प्रतिशतमा झरेको थियो। त्यसपछि ६३.०२ प्रतिशत, ६७ प्रतिशत, ७१ प्रतिशत, ६५ प्रतिशत, ६७.१३ प्रतिशत, ६५.८९ प्रतिशत र सन् २०१९ मा ५४.९८ प्रतिशतले औषधि खाएका थिए।
सरकारले सन् २०२० सम्ममा सो रोग निवारण गर्ने लक्ष्य लिए पनि सो रोगविरुद्धको औषधि सेवन गर्नेको संख्या कम हुँदै गएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित