वुहानमा राेकिए करिब १०० नेपाली
कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दुमा रहेको चीनको वुहान र नजिकैका नगरमा रहेका करिब १०० नेपाली त्यहीँ रोकिएका छन्। सुरक्षित रूपमा नेपाल फर्काउने पहल गरिए पनि चिनियाँ अनुरोधमा उनीहरूलाई त्यहीँ रोकिएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ।
दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार कोरोना भाइरसको संक्रमण फैलिन थालेलगत्तै हुबे प्रान्तका वुहान र अन्य नगरमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ता गर्न पहल गरिएको थियो।
तर चिनियाँ परराष्ट्र मन्त्रालयले संक्रमण फैलिन नदिन सबै देशका नागरिकलाई नगर नछोड्न अनुरोध गरेकोले वुहान र वरपर रहेका नेपाली नागरिकलाई नेपाल फर्काउने प्रयास अहिलेलाई रोकिएको लम्सालले बताए।
तर छिमेकी देश भारतको विदेश मन्त्रालयका प्रवक्ताले हुबे प्रान्तबाट आफ्ना नागरिकलाई अन्यत्र लैजाने प्रक्रिया सुरु गरिएको बताएको छ।
दूतावासको अग्रसरता
लम्सालका अनुसार नेपाल सरकारले वुहान र वरपरका क्षेत्रबाट आफ्ना नागरिक फिर्ता लैजान अग्रसरता देखाएको छ।
‘हामी आवश्यकताअनुसार सबै कदम चाल्न तयार छौँ। तर यो विशिष्ट परिस्थिति भएकोले चीनले अहिलेसम्म अनुमति दिएको छैन’, उनले भने।
नेपालका राजदूतले पनि संक्रमण थप फैलिन नदिन आफ्ना नागरिकलाई फिर्ता लैजान हतार नगर्ने प्रतिबद्धता चिनियाँ परराष्ट्र मन्त्रालयसमक्ष गरिसकेको उनले बताए।
नेपाली दूतावासका नियोग उपप्रमुख लम्सालका अनुसार चीनमा अहिले करिब आठ हजार नेपाली छन्। हुबेका केही सहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ भने सार्वजनिक स्थलमा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम लागु गरिएको छ। अहिले वुहान तथा हुबे प्रान्तका अधिकांश स्थान सुनसान देखिन्छन्।
बीबीसी नेपालीबाट





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित