Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरसको त्रास : चिकित्सक भन्छन्, नतर्सिनुस्, सावधानी अपनाउनुस्

कोरोना भाइरसको त्रास : चिकित्सक भन्छन्, नतर्सिनुस्, सावधानी अपनाउनुस्

चितवन : उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि नेपालीहरूमा पनि त्रास थपिएको छ। तर चिकित्सकहरूले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन्।

भरतपुर अस्पतालमा वरिष्ठ फिजिसियन तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा. भोजराज अधिकारीले समयमै उच्च सतर्कता अपनाउन सकेसंक्रमणबाट बच्न सकिने बताए।

कोरोना भाइरसले रूप परिवर्तन गरेकाले यसको छुट्टै औषधि र सुई (भ्याक्सिन) भने नभएको उनको भनाइ छ। यो भाइरस ड्रिफ्ट (सामान्य परिवर्तन) नभएर सिफ्ट (ठूलो परिवर्तन) भएकाले महामारीको जोखिम भने भएको उनले बताए

धेरै सङ्क्रमित भएको चीनसँग सीमा जोडिएको देश भएकाले नेपालीहरूले व्यक्तिगत सरसफाइ र खानपानमा ख्याल गर्नुपर्ने उनको भनाइ छ।

‘नेपालमा पशुपक्षी पालनमा कार्यरत हुनेहरूले स्वास्थ्यको ख्याल गर्ने गरेको पाइँदैन’, उनले भने, ‘विशेषगरी पशुपालकहरूले धेरैनै सतर्क रहनुपर्छ। ‘राम्रोसँग साबुनपानीले हात धुने, काँचो मासु नखाने, जनावरसँग काम गर्नुपर्दा मास्क, पञ्जा जस्ता सुरक्षित कपडा लगाएर गर्नुपर्ने उनको सुझाव छ।

यो मौसममा विवाह, व्रतबन्धजस्ता सार्वजनिक कार्यक्रम बढी हुने भएकाले यस्ता कार्यक्रममा कम सहभागी हुन र हुनैपर्दा सावधानी अपनाउन अधिकारीले सल्लाह दिए।

चिनियाँ पर्यटकदेखि त्यहाँ रहेका नेपाली विद्यार्थी धेरै भएकाले तिनको आवतजावत हुँदा अन्तरदेशीय समन्वय गरी स्वास्थ्य परीक्षण गर्नुपर्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय विमानस्थल र चीनको नाकामा स्वास्थ्य डेस्क राखेर परीक्षण गर्न डा. अधिकारीको सुझाव छ।

अन्य भाइरसमा फोक्सोले काम गर्न छाड्दै जाने भए पनि कोरोनाको संक्रमणमा छिटो मिर्गौला फेल हुने र कलेजोमा बढी असर गर्ने उनले बताए। रुघाखोकीको सामान्य उपचारबाट निको नभएमा स्वाब (र्याल, सि‌ँगान) परीक्षण गर्न सुझाव दिँदै उनले लक्षण देखिएमा तत्काल चिकित्सकको सुझावअनुसार औषधि उपचार गर्नुपर्ने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार