Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस संक्रमण : पर्यटन मन्त्रालयको १२ बुँदे निर्देशन

कोरोना भाइरस संक्रमण : पर्यटन मन्त्रालयको १२ बुँदे निर्देशन

काठमाडौं : चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो।

नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनुपर्ने पूर्वसतर्कता, जनचेतना र समन्वयका सम्बन्धमा छलफल गरी निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए। उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (हेल्थ डेस्क) स्वास्थ्य कक्ष स्थापना गरी चीनबाट आएका पर्यटकमा भाइरस संक्रमणको अनुमान गर्न निर्देशन दिइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नेपाल आउने हवाइजहाज अवतरण गर्नुपूर्व यात्रुहरूलाई हेल्थ डेस्कमा गई आधारभूत जाँच गराउने व्यवस्था गर्न तथा विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्डबमोजिम अवतरणको समयमा जहाजलाई संक्रमणबाट बचाउने व्यवस्था गर्न निर्देशन दिइएको छ। त्यस्तै विमानस्थलमा कार्यरत कर्मचारीहरूलाई कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकतानुसारका अन्य स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्नसमेत निर्देशन दिइएको छ।

होटल, ट्राभल तथा ट्रेकिङ एजेन्सीलाई पर्यटकमा भाइरसको कुनै पनि लक्षण देखिएमा यथाशीघ्र तोकिएको स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था मिलाउन भनिएको छ। पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सबै संस्थाले उक्त भाइरसबारे अवलम्बन गर्नुपर्ने सजगता एवं पूर्वसावधानी सम्बन्धमा आफ्ना कर्मचारीलाई तत्काल सुसूचित गराउने, कुनै पनि भाइरसबाट आउन सक्ने समस्याका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएका सूचना एवं गर्नुपर्ने आवश्यक सहयोगमा पूर्ण सक्रियताका साथ कार्य गर्ने निर्देशन दिइएको हो।

नेपालमा स्थलमार्गबाट पर्यटक प्रवेश गर्ने स्थान रसुवा, यारीलगायत उत्तरी सीमा नाका समेतमा उल्लिखित सतर्कता र पूर्वसावधानी अपनाउने, भाइरसको सम्भावना भएका बिरामीलाई तत्काल ‘आइसोलेसन’मा राख्नुपर्ने भएकाले यस सम्बन्धमा सबैले पूर्वसावधानी एवं सजगताका साथ कार्य गर्ने भनिएको प्रवक्ता तामाङले जानकारी दिए।

त्यस्तै चिनियाँ पर्यटकको बढी उपस्थिति हुने काठमाडौ‌ं, पोखरा, चितवन र लुम्बिनी जस्ता स्थानमा विशेष पूर्वसावधानी अवलम्बन गर्न, कोरोना भाइरसबाट बच्न र बचाउन जनचेतना वृद्धि गर्न, मानिसको धेरै आवतजावत हुने धार्मिक, सांस्कृतिक स्थानमा सचेतनामूलक प्रचारप्रसार कार्य सञ्चालन गर्ने निर्देशन दिइएको छ।

रासस

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार