Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस : चीनले कसरी बनाउला यति चाँडै अस्पताल?

कोरोना भाइरस : चीनले कसरी बनाउला यति चाँडै अस्पताल?

वुहान शहरमा कोरोनाभाइरस लागेको शंका लागेका बिरामीको उपचारका लागि छ दिनमा तयार हुने गरी अस्पताल बनाउन शुरु गरिएको छ।

राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार नयाँ अस्पतालमा एक हजार शय्या हुनेछन्।

बेइजिङको अनुसरण

चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमले प्रकाशित गरेको भिडिओ फुटेजमा २५,००० वर्ग मीटर क्षेत्रफल रहेको अस्पताल निर्माण क्षेत्रमा डिगरहरू देखाइएका छन्।

सन् २००३ मा सार्स भाइरस संक्रमणका बेला बेइजिङमा यस्तै खालको अस्पताल बनाइएको थियो। त्यसैका आधारमा नयाँ अस्पताल बनाइने बताइएको छ।

‘यो संक्रमणजन्य रोग लागेका मानिसलाई छुट्टै राखेर उपचारको प्रक्रिया अपनाइने र विभिन्न खाले सावधानी अपनाइने किसिमको अस्पताल हो’, हार्भर्ड मेडिकल स्कुलमा ग्लोबल हेल्थ एन्ड सोसल मेडिसिनकी लेक्चरर जोआन काउफम्यानले भनिन्।

यति चाँडै निर्माण सम्भव छ?

काउन्सिल अन फरेन रिलेसन्समा वरिष्ठ सदस्य यानझोङ हुआङले भने, ‘चीनमा यस्ता किसिमका आयोजना एकदम छिटो सम्पन्न हुने गरेको रेकर्ड छ।’

उनले बेइजिङमा एउटा अस्पताल सात दिनमा सम्पन्न गरेको भन्दै अहिले सम्भवत त्यो रेकर्ड तोड्नेगरी छ दिनमा बनाउने प्रयत्न गर्न लागिएको हुनसक्ने बताए। बेइजिङको जस्तै यो अस्पताल पनि प्रिफ्याब वस्तुबाट बनाइनेछ।

निरंकुश मुलुकमा यसप्रकारको माथिबाट तल परिचालन गर्ने प्रकिया अपनाइन्छ। त्यसले गर्दा प्रशासनिक र आर्थिक झमेलाबाट पार पाइन्छ र सबै खाले स्रोत परिचालन गर्न पाइन्छ।

‘समयमै योजना सम्पन्न गर्न देशका विभिन्न भू–भागबाट इन्जिनियरहरू ल्याइनेछन्’, हुआङले भने, ‘चीनमा इन्जिनियरिङ कार्य राम्रो छ। त्यहाँ एकदम द्रूत गतिमा अग्ला भवन बनाइएको रेकर्ड पनि छ। यो पश्चिमाहरूका लागि अकल्पनीय छ। त्यो गर्न सकिन्छ।’

औषधिजन्य पदार्थ भने वुहानले अरू अस्पताल वा फ्याक्ट्रीबाट सजिलै ल्याउन सक्नेछ।

शुक्रवार द ग्लोबल टाइम्सले चिनियाँ सेनाका १५० जना स्वास्थ्यकर्मी वुहान आइपुगेको पुष्टि गरेको थियो। तर तिनले नयाँ अस्पतालमा काम गर्ने हुन् कि होइनन् भन्ने कुरा भने उसले पुष्टि गरेको छैन।

सार्स संक्रमणका वेला

सन् २००३ मा बेइजिङमा सार्स रोगका लक्षण भएका बिरामीको उपचार गर्न भनेर जियाओट्याङशन अस्पताल बनाइएको थियो।

सात दिनमा अस्पताल निर्माण सम्पन्न भएको थियो। त्यसले संसारमा सबभन्दा छिटो अस्पताल बनाउने रेकर्ड पनि तोडिएको बताइएको छ। उक्त अस्पताल बनाउन ४००० मान्छेले दिनभर र रातभर काम गरेको चाइना डटकम डट सीएनले जनाएको छ।

त्यहाँ एक्स रे कोठा, सीटी कोठा सघन उपाचार कक्ष र प्रयोगशाला थियो। हरेक वार्डमा आफ्नै शौचालय थियो। दुई महिनाभित्रै अस्पतालले देशभरका सात भागमा एक भाग सार्सका बिरामी भर्ना गरेको थियो।

बीबीसी नेपालीबाट

थप समाचार