कोरोना भाइरस संक्रमितको उपचार गर्न तीन अस्पताल
चीनमा कम्तीमा ४१ जनाको ज्यान लिइसकेको कोरोना भाइरसको संक्रमण एक नेपालीमा भेटिएको पुष्टि भएसँगै नेपालमा थप सतर्कता अपनाइएको अधिकारीहरूले बताएका छन्।
शनिवार बिहान बसेको बैठकले काठमाडौंका सबै अस्पतालहरूलाई सतर्क अवस्थामा रहन र आइसोलेसन वार्डबनाएर तीन दिन भित्र योजना पेस गर्न अस्पतालहरूलाई निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौंस्थित मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्न र आवश्यक परेको अवस्थामा त्यहीँबाट अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा राख्ने कार्य भइसकेको अधिकारीहरूले बताएका छन्।
चीनमा नयाँ वर्ष तथा वसन्त पर्वको छुट्टी शुरु भएका कारण यो वेला नेपाली विद्यार्थी स्वदेश फर्किन्छन्।
कोरोनाभाइरसको सङ्क्रमण फैलँदै गएपछि विभिन्न चिनियाँ शहरहरूमा रहेका नेपालीहरू समेत नेपाल फर्किरहेका विवरणहरू सार्वजनिक भइरहेका छन्।
शुक्रवार स्वास्थ्य मन्त्रालयले चीनको वुहानबाट हालै फर्केका एक नेपाली विद्यार्थीमा संक्रमण देखिएको बताएको थियो। तर ती व्यक्ति हाल निको भएर घर फर्किसकेको बताइएको छ। उनको परिचय खुलाइएको छैन।
त्यसबाहेक शाङ्घाइ शहरबाट केही समयअघि नेपाल आइपुगेका एक नेपालीमा पनि कोरोना भाइरसको संक्रमण भएको आशङ्का गरिएको अधिकारीहरूले बताएका छन्। उनलाई हाल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा छुट्टै कोठामा राखिएको छ।
उनको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाइएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनले जानकारी दिए। अधिकारीहरूका अनुसार विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस भएको आशङ्का गरिएकाहरूलाई एक्लै राखेर परीक्षण गर्नुपर्ने बताएको छ।
त्यसबाहेक संक्रमित भएको पुष्टि भएको अवस्थामा ती व्यक्तिको बाक्लो हेलमेल भएका व्यक्तिहरूलाई पनि उच्च निगरानीमा राख्न सुझाइएको बताइएको छ।
चीनमा रहेका नेपालीहरू नेपाल आउने समय भएकाले र सङ्क्रमणको आशंका गरिएकाहरूसँग हेलमेल भएकाहरूलाई समेत हेर्नुपर्ने हुँदा नेपालको जनस्वास्थ्यसँग सम्बन्धित पूर्वाधारले त्यसलाई धान्न सक्छ कि सक्दैनन् भन्ने विषय पेचिलो हुँदै गएको बताइएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार हाललाई सरकारले कोरोनाभाइरस संक्रमितलाई राख्न तीन वटा अस्पताल तोकेको छ।
एक नम्बरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, दोस्रोमा पाटन अस्पताल र तेस्रो सशस्त्र प्रहरी बलको अस्पताल राखिएको उनले जानकारी दिए।
एक्लै राखेर उपचार गर्नका लागि भने हाल १० वटा मात्रै कोठा रहेको अधिकारीहरूको भनाइ छ। छ वटा कोठा टेकुमा र बाँकी चार पाटन अस्पतालमा तयार पारिएको बताइएको छ। सशस्त्रमा भने यो समाचार तयार पारुञ्जेल कोठा छुट्याइनसकेको बताइएको छ।
‘विश्व स्वास्थ्य संगठनले नेपाललाई मध्यम स्तरको सतर्कता अपनाउन भनेको छ। त्यसैअनुरूप काम गरिरहेका छौँ। स्थिति अनुसार योजना पनि परिमार्जन हुँदै जानेछ’, श्रेष्ठले भने।
बीबीसी नेपालीबाट





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित