Health TV Online
Health TV Online
Health TV Online

जनस्वास्थ्य, अस्पताल र औषधालय एउटै बनेपछि यस्तो भद्रगोल

जनस्वास्थ्य, अस्पताल र औषधालय एउटै बनेपछि यस्तो भद्रगोल

जाजरकोट : ६५ जनाको दरबन्दी भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयमा २३ जना स्वास्थ्यकर्मीले सेवा दिँदै आएका छन्। ४२ स्वास्थ्यकर्मीको दरबन्दी रिक्त भएपछि कार्यालय करार र प्रशिक्षार्थी स्वास्थ्यकर्मीको भरमा चलिरहेको छ।

स्वास्थ्यकर्मीको समायोजनले अस्पताल जनशक्तिको अभावमा गुज्रिएको हो । विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, औषधि, पूर्वाधार र उपकरण लगायत अभाव भएपछि सामान्य बिरामीसमेत जिल्लाबाहिर गएर उपचार गराउन बाध्य छन्। अस्पताललाई चार वर्षअघि १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको थियो । जनशक्ति तथा उपकरण नहुँदा अस्पताल आफैँ रोगीजस्तो बनेको स्थानीयवासीको आरोप छ ।

छैनन्  विशेषज्ञ 

स्वास्थ्य सेवा व्यवस्थापक, बालरोग, स्त्रीरोग, बेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी सात विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर एक पनि विशेषज्ञ चिकित्सक अस्पतालमा छैनन् । तीन मेडिकल अधिकृत र एकजना आयुर्वेद चिकित्सकको दरबन्दी पनि रिक्त छ।

त्यस्तै मेडिकल ल्याब टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक पद लामो समयदेखि खाली छ । पब्लिक हेल्थ नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याब असिस्टेन्ट र तीन अहेबको दरबन्दीसमेत रिक्त रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.रविन भुसालले बिरामीको संख्या बढिरहेको बताए। ‘दैनिक १५० जनासम्म बिरामी आउने गरेका छन्’, उनले भने, ‘दरबन्दीअनुसारको चिकित्सक नहुँदा समस्या भएको छ।’ स्वास्थ्यकर्मीलाई समयमै तलब र अतिरिक्त भत्ता दिन नसक्दा भएका जनशक्तिको पनि सदुपयोग हुन नसकेको उनको भनाइ छ।

कर्णाली प्रदेश सरकारले जनस्वास्थ्य, जिल्ला अस्पताल र जिल्ला आयुर्वेद औषधालयलाई एउटै कार्यालय बनाएपछि व्यवस्थापनमा भद्रगोल अवस्था सृजना भएको स्वास्थ्यकर्मीको भनाइ छ । जनशक्ति पूर्ति र उपकरणको व्यवस्था नगर्दा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिइन्।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार