Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य सेवामा पहुँच बढ्दै

स्वास्थ्य सेवामा पहुँच बढ्दै

कञ्चनपुर : भीमदत्त नगरपालिका–७ हल्दुखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि नवजात शिशु र मातृमृत्यु दर शून्यमा पुगेको छ।

घर घर पुगेर खोप लगाउने कार्य शुरुआत गरिएपछि लक्ष्यभन्दा बढी खोप लगाइएको केन्द्रका अनमी उर्मिला जोशीले जानकारी दिइन्। कार्य क्षेत्रभित्र रहेका ८५ प्रतिशत भन्दा माथि बालबालिका खोपको पहुँचमा ल्याइएको उनले दाबी गरिन्।

केन्द्रमा वडा नं. ६ र ७ का बासिन्दाले आवश्यक स्वास्थ्य सेवा सहज रूपमा पाएका छन्। परिवार नियोजनका साधन मात्रै उपलब्ध हुने केन्द्रमा हाल ३५ प्रकारका औषधि निःशुल्क रूपमा पाइने गरेको छ। अहिले केन्द्रमा दैनिक ४० भन्दा बढी स्थानीय बासिन्दा सेवा लिन जाने गरेका छन्।

शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि वडा नं १७ का बासिन्दाले सामान्य उपचारदेखि सुरक्षित मातृत्व सेवा पाउन थालेका छन्। केन्द्रले वडा नं. १७ देखि वडा नं ५, ११ र १२ का बासिन्दालाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ । केन्द्रअन्तर्गत  चार वटा गाउँ घर क्लिनिक पनि सञ्चालन रहेको छ ।

केन्द्रका अनमी शारदा सिंहका अनुसार एक वर्षको अवधिमै चार हजार ३०० ले सामान्य उपचार सेवा पाएका छन्। तीमध्ये ९३२ ज्येष्ठ नागरिकले रहेका छन्। सुरक्षित मातृत्व सेवा ८८ र परिवार नियोजन सेवा ९६६ ले लिएका छन्। एक हजार ४२ बालबालिकाले पूर्ण खोप सेवा पाएका छन् ।

भीमदत्त नगरपालिका–१९ मा १६ लाख ५० हजार रूपैयाँ लागतमा शहरी स्वास्थ्य केन्द्र भवन  निर्माण गरिएको छ। गर्भवती जाँच, खोप र औषधि वितरणको कार्य केन्द्रको भवनबाट हुँदै आएको छ। केन्द्रबाट वडा नं २, १५, १८ र १९ का दैनिक ७० बासिन्दा लाभान्वित हुँदै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार