Health TV Online
Health TV Online
Health TV Online

अस्पतालले पाएन बिमा गरेका बिरामीको उपचार रकम

अस्पतालले पाएन बिमा गरेका बिरामीको उपचार रकम

चितवन : भरतपुर अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीको उपचार रकम सरकारले नदिँदा समस्या भएको गुनासाे गरेकाे छ। उपचारबापतकाे आठ करोड रूपैयाँ पाउन बाँकी रहेकाले अस्पताल सञ्चालनमा समस्या भएकाे हाे।

अस्पतालका अनुसार २०७४ भदौ १ गते स्वास्थ्य बिमा लागू भएदेखि पुस मसान्तसम्म ५३ हजार ४३८ बिरामीले उपचार गराएका छन्। ती बिरामीले अस्पतालमा दुई लाख ४४ हजार ९४२ पटक सेवा लिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले बताए। अहिलेसम्म अस्पतालले २६ करोड १२ लाख ५२ हजार २५८ प्राप्त गरेको उनले जानकारी दिए।

भरतपुर अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत चौध जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ। प्रथम सेवा बिन्दुको रूपमा अस्पतालले बीमाका बिरामीलाई सेवा दिँदै आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए। उनका अनुसार सबैभन्दा बढी चितवनका बिरामीले सेवा लिएका छन्। यसपछि मकवानपुर, तनहुँ र गोर्खा जिल्ला रहेका छन्। रोल्पा, रुकुम, पाल्पा, दाङ, अर्घाखाँची, पर्सा, सिन्धुली, रामेछाप, कास्की र रौतहटका बिरामीले पहिलो सेवाबिन्दु र रेफरल सेवाविन्दुका रूपमा अस्पतालबाट सेवा लिएको जनाइएको छ।

यता स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेलले भरतपुर अस्पतालले धेरै बिरामीलाई सेवा दिएको स्वीकार गरे। सेवामा अरु बढी सुधार आवश्यक रहेको उनको भनाइ छ। बोर्डमा जनशक्तिको अभावमा रकम भुक्तानीमा ढिलाइ भएको भएको र छिट्टै भुक्तानी गर्ने उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार