सुत्केरी हुँदा श्रीमान् सँगै रहनुपर्ने
शिशु कसरी जन्माउने? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेसन) मार्फत। नेपालमा गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले प्राथमिकता पाइरहेको छ।
स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन्। उनको साथमा आमा, सासू, दिदीबहिनी अन्य महिला नै हुन्छन्। कतिपय देशमा श्रीमानको अनुमतिविना चिकित्सकले गर्भवती जाँचसमेत गर्दैनन्। श्रीमानलाई साथमा राखेर सेवा दिन्छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले गर्भवतीले आफूले चाहेको विधिमा सुत्केरी हुन पाउने र विशेषगरी सुत्केरी हुन लागेको अवस्थामा श्रीमान् अथवा घरपरिवार अनिवार्य साथमा रहनुपर्ने अभ्यासलाई प्रयोगमा ल्याउने तयारी थाल्दैछ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले यो अभ्यासलाई पहिलोपटक व्यवहारमा ल्याएको थियो।
प्रसूति तथा स्त्रीरोगसम्बन्धी केन्द्रीय अस्पताल परोपकार प्रसूतिगृह थापाथलीले सो अभ्यासलाई हालसम्म व्यवहारमा ल्याउन सकेको छैन। सुत्केरी हुन लागेको अवस्थामा रहेकी महिलाका साथमा स्वास्थ्यकर्मी मात्र रहन्छन्। पुरुषलाई निषेध छ। परिवारका आफन्तले सुत्केरीलाई मुस्किलले भेट्न पाउँछन्।
प्रतिष्ठानका नर्सिङ डीन सरस्वती गौतमले प्राकृतिकरूपमा सहज सुत्केरी गराउन जुम्ला अस्पतालले छुट्टै बर्थिङ सेन्टर स्थापना गर्न लागेको जानकारी दिइन्। ‘चिकित्सकले जटिल भनेर सिफारिश गरेका बाहेक’ अन्य गर्भवतीलाई प्राकृतिकरूपमा सुत्केरी गराउन मिडवाइफले सेवा दिने उहाँले जानकारी दिइन्। अस्पतालमा पछिल्लो समय शल्यक्रियामार्फत सुत्केरी गराउन निरुत्साहित हुँदै आएको छ।
‘नर्मल विधिबाट डेलिभरी हुन पाउनु महिलाको अधिकार हो, शल्यक्रिया त जटिल अवस्थामा दोस्रो विकल्प हो । पहिलो विकल्प हुँदाहुँदै दोस्रोको प्रयोगलाई न्यूनीकरण गर्ने हाम्रो ध्येय हो’, गौतमले भनिन्, ‘सुत्केरी हुने अवस्थामा श्रीमान् अथवा घरपरिवार नजिक हुँदा आत्मबल उच्च हुन्छ । शिशु निकाल्न शक्ति उत्पन्न हुन्छ । यसैले सुत्केरी हुँदा नजिक परिवारको अनिवार्य खोजी गरिएको हो।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण