Health TV Online
Health TV Online

आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव

आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव

तनहुँ : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ। केन्द्रमा सामान्य औषधि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्किने गरेका छन्।

पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गर्दा केन्द्रमा भने स्वास्थ्य परीक्षण गर्नुबाहेक अन्य सुविधा नपाउँदा बिरामी निराश हुँदै फर्किने गरेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले जानकारी दिए। गण्डकी प्रदेश सरकारलाई पटकपटक जानकारी गराउँदा पनि औषधिको व्यवस्था हुन नसकेकाे उनकाे भनाइ छ।

आफू सरुवा भएर आएको डेढ महिनाको अवधिमा बिरामीको संख्या शून्य रहेको कार्यालय प्रमुख डा. रामप्रबोध मण्डलले जानकारी दिए।कार्यालयबाट प्रदान गरिने सेवासुविधा नभएपछि बिरामीको आकर्षण घटेकाे हाे। ‘बिरामीको संख्या कम्तीमा ५० पुर्याउने लक्ष्य लिएर काम गर्दा हाल दैनिक ४० देखि ४५ बिरामी आउने गरेका छन्’, मण्डलले भने।

उपचारमा आउने बिरामीलाई पञ्चकर्म विधि (औषधिको बाफ लगाएर दुखेको ठाउँमा सेक ताप गरिने विधि) थालिएसँगै बिरामीको आकर्षण बढ्न थालेको उनकाे भनाइ छ।

उक्त स्वास्थ्य केन्द्रमा अम्लपित्त, स्त्रीरोग, नसा, छाला, पायल्सलगायत समस्याका बिरामी बढी मात्रामा आउने गरेका छन्। प्रदेश सरकारले शल्यक्रिया कक्ष र व्यवस्थापन शीर्षकमा विनियोजन गरेको नौ लाख रूपैयाँबाट सामान खरिद गरी व्यवस्थापन गरिए पनि प्राविधिक जनशक्ति अभावमा सञ्चालनमा ल्याउन नसकिएको डा. मण्डलले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार