Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चीनमा नयाँ भाइरस : सयौँ संक्रमित भएको अनुमान

चीनमा नयाँ भाइरस : सयौँ संक्रमित भएको अनुमान

वैज्ञानिकहरूले चीनमा एक प्रकारको नयाँ भाइरसबाट सङ्क्रमित हुने मानिसको संख्या आधिकारिक संख्याभन्दा बढी हुनसक्ने बीबीसीलाई बताएका छन्।

चिनियाँ आधिकारिक विवरणअनुसार अहिलेसम्म ४५ जना भाइरसबाट संक्रमित भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको छ।

तर यूकेका विज्ञहरूका अनुसार त्यो संख्या १,७०० को नजिक हुनसक्छ।

गत डिसेम्बर महिनामा वुहान शहरमा पहिलोपटक देखिएको नयाँ प्रकारको कोरोनाभाइरसबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ।

‘एक हप्ताअघि भन्दा अहिले चाहिँ म अझ बढी चिन्तित छु’, वैज्ञानिक नील फर्गुसनले भने।

ब्रिटिश सरकार र विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओलाई समेत सल्लाह दिने इम्पेरिअल कलेज लण्डनस्थित एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सिअस एनालिसिसले त्यस्तो अनुमान गरेको हो।

सिङ्गापुर र हङ्‌कङले वुहानबाट आउने हवाई यात्रीहरूको स्वास्थ्य जाँच गर्न थालिसकेका छन्।

अमेरिकी अधिकारीहरूले पनि सान फ्रान्सिस्को, लस एन्जलस र न्यूयोर्कस्थित तीनवटा प्रमुख विमानस्थलमा शुक्रवारदेखि त्यस्तै गर्न लागिएको घोषणा गरेका छन्।

संख्या कसरी निकालियो?

यो समस्याको आकार संक्रमित भएका मानिसहरू अन्य देशमा कति संख्यामा भेटिन्छ भन्नेबाट थाहा हुने हो।

वुहानबाट समस्याको उत्पत्ति भए पनि थाइल्याण्डमा दुई जनामा र जापानमा एक जनामा संक्रमण देखिएको छ।

‘मलाई चिन्तित बनाएको त्यसैले हो’, प्राध्यापक फर्गुसनले भने।

उनले थपे– ‘बुहानले अन्य देशमा तीनजना संक्रमित पठाइसक्नु भनेको त्यहाँ भनिएको भन्दा निकै धेरै संक्रमण भएको छ भन्ने हो।’

ठ्याक्कै संख्या बनाउन सम्भव नदेखिए पनि भाइरसबाट हुने संक्रमणको स्वरूप, स्थानीय जनसंख्या र उडान तथ्यांकले एउटा धारणा बनाउनमा सघाउन सक्छ।

बुहान अन्तर्राष्ट्रिय विमानस्थलले एक करोड ९० लाख मानिसलाई सेवा दिन्छ। यद्यपि प्रतिदिन ३,४०० जनाले मात्रै त्यहाँबाट अन्तर्राष्ट्रिय यात्रा गर्छन्।

संक्रमित हुन सक्नेहरूको संख्या बारेको विस्तृत लेखाजोखा एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्नुअघि अनलाइनमा प्रकाशन गरिएको छ।

अहिले नै आत्तिनुपर्ने अवस्था नभए पनि एक हप्ताअघि भन्दा अहिले आफू निकै चिन्तित बनेको प्राध्यापक फर्गुसनले भने।

मानिसबाट मानिसमा भाइरस सरेको घटना अहिलेसम्म नदेखिएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

बरु सङ्क्रमित जनावरबाट वुहानस्थित ‘सी फूड’ बिक्री हुने एउटा बजारसम्म फैलिन पुगेको उनीहरूले उल्लेख गरेका छन्।

के हो कोरोना भाइरस?

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो।

वुहानमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा नदेखिएको भाइरस हो। कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो।

पहिचान भएका थुप्रै अन्य प्रकारका कोरोना भाइरस जनावरहरूमा देखिए पनि तिनले मानिसहरूलाई संक्रमित बनाएका छैनन्।

बीबीसी नेपाली

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै