Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चीनमा देखियो कोरोना भाइरस, नेपाल पनि सतर्क हुन जरूरी

चीनमा देखियो कोरोना भाइरस, नेपाल पनि सतर्क हुन जरूरी

पहिलोपटक देखिएको एक प्रकारको भाइरसका कारण चीनको वुहान शहरमा दोस्रो व्यक्तिको मृत्यु भएपछि नेपालमा पनि त्यसबारे चिन्ता व्यक्त गर्न थालिएको छ।

वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई भर्ना गरी पाँच दिनदेखि चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले बताए।

‘ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएका उनलाई जनवरी १३ देखि भर्ना गरिएको हो’, पुनले थपे।

पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटक र चीन जाने नेपालीको संख्या बढिरहेको पृष्ठभूमिमा बेलैमा सजग हुन आवश्यक रहेको चिकित्सक बताउँछन्।

चन्द्रमान पात्रोअनुसारको नयाँ वर्ष मनाउनका लागि आउँदा हप्तामा चीन र अरू एशियाली मुलुकमा लाखौँ मानिसको चहलपहल हुने भएकोले यो भाइरस फैलिन सक्ने डर छ।

वुहानको भ्रमण गरी स्वदेश फर्किएका आफ्ना केही नागरिकमा सो भाइरसको संक्रमण देखिएको थाइल्याण्ड र जापानले बताएका छन्।

चिनियाँ अधिकारीहरूका अनुसार नयाँ प्रकारको कोरोना भाइरसका कारण पछिल्लो पटक मृत्यु हुनेमा गत महिनाको अन्त्यतिर बिरामी परेका एक ६९ वर्षीय वृद्ध रहेका छन्।

चिकित्सकहरूका टोलीले याे भाइरसबारे बुझ्ने प्रयासलाई तीव्र पारेको चिनियाँ अधिकारीहरूले बताएका छन्।’सीफूड’ बिक्री हुने एउटा बजारमा पहिलो पटक नयाँ भाइरस देखिएको ठानिएको छ।

के भन्छन् स्वास्थ्य विज्ञ?

जनस्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा वैज्ञानिक डा। समीरमणि दीक्षितका अनुसार नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नभए पनि यसलाई निगरानीमा राख्न जरुरी छ।

बीबीसी न्यूज नेपालीलाई उनले भने, ‘हामी जहिले पनि तयारीमा कमजोर देखिन्छौँ। चीन नजिकै छ। हामीकहाँ चिनियाँ पर्यटक आउने हुनाले यो महत्त्वपूर्ण छ।’

‘चीनबाट आउने सबै पर्यटकलाई विमानस्थलमै ज्वरोका लक्षण हेर्नका लागि निगरानी बढाउनुपर्छ। भारतको तुलनामा निगरानी सजिलो पनि छ। मुख्यतः विमानस्थलबाट नै हो’, दीक्षितले थपे।

त्यसैगरी यसको उपचारमा चाहिने औषधि पर्याप्त मात्रामा उपलब्ध हुने व्यवस्था गर्नुजस्ता प्रारम्भिक तयारी जरुरी रहेको उनको सुझाव छ।

नयाँ प्रकारको कोरोना भाइरसको हकमा मात्रै नभई अन्य खतरनाक भाइरसको हकमा पनि उत्तिकै चनाखो हुनुपर्नेमा डा. पुनको पनि जोड छ।

‘हामीकहाँ अन्य प्राणघातक भाइरसलाई पनि लिएर पर्याप्त सावधानी अपनाइएको देखिँदैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउन र त्यहाँ बस्ने स्वास्थ्यकर्मी अझ तालिम दिन आवश्यक छ’, उनले भने।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले चाहिँ चीनमा नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण देखिपछि आवश्यक सजगता अपनाइएको बताए।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘विश्व स्वास्थ्य संगठनले ‘कन्ट्री अलर्ट’ जारी नगरे पनि हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई चीनबाट आउने पर्यटकमा स्वास्थ्य समस्या देखिएमा त्यसलाई हेर्न भनिसकेका छन्।’

आवश्यकता अनुसार थप कदम चाल्नेतर्फ पनि विचार गरिरहेको श्रेष्ठले बताए।

के हो कोरोना भाइरस?

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो।

नयाँ प्रकारको कोरोना भाइरस यसअघि मानिसमा पहिचान गरिएको थिएन।

कोरोना भाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो।

पहिचान भएका थुप्रै प्रकारका कोरोना भाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले संक्रमित बनाएका छैनन्।

लक्षण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छ–

ज्वरो आउनु र खोकी लाग्नु

छिटोछिटो सास फेर्नु

श्वासप्रश्वासमा कठिनाइ हुनु

गम्भीर भएमा निमोनिया हुनु

सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु।

मिर्गौलाले काम गर्न छोड्छ र मृत्युसमेत हुन सक्छ

कसरी जोगिने?

यो भाइरसको संक्रमणबाट जोगिन विश्व स्वास्थ्य संगठनले निम्न प्रकारका सुझाव दिएको छ–

नियमित रूपमा हात सफा गर्ने

खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने

मासु र अण्डा राम्रोसँग पकाएर खाने

कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने।

बीबीसी नेपाली

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन