Health TV Online
Health TV Online

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भाइरल लोड सेवा शुरू

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भाइरल लोड सेवा शुरू

पोखरा : गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भाइरल लोड सेवा शुरू गरेको छ।

एचआईभी एड्सबाट सङ्क्रमितको शरीरमा रहेको भाइरलको मात्रा जाँच गर्ने याे सेवाका लागि राजधानी काठमाडौँ पठाउनुपर्ने र रिर्पोटका दुई महिनाभन्दा लामो समय पर्खनुपर्ने बाध्यता अब हटेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीवार सेवा उद्घाटन गरे।

स्वास्थ्य मन्त्रालय मातहतको एचआईभी तथा यौन रोग नियन्त्रण महाशाखा (एनटीएएचसी) ले डेढ वर्ष पहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई याे सेवाका लागि आवश्यक दुई करोड मूल्य पर्ने मेसिन उपलब्ध गराएको थियो।

सेवाका लागि मेसिन प्राप्त भए पनि त्यसको सञ्चालन गर्ने जनशक्ति तथा प्रयोग गर्ने केमिकल नहुँदा लामो समय प्रयोगमा आउन नसकेको अस्पतालका प्रयोगशाला विभाग प्रमुख एवं कन्सल्टेन्ट प्याथोलोजिष्ट डा लक्ष्मण बाँस्तोलाले बताए।

‘मेसिन सञ्चालनका लागि आवश्यक केमिकल र जनशक्ति नहुँदा सेवा शुरु गर्न सकेका थिएनौँ’, उनले भने, ‘हाल दुई जना कर्मचारी र आवश्यक केमिकल प्राप्त भएपछि सञ्चालन गरेका हौँ । बिरामीले अब यसका लागि राजधानी जानुपर्ने र नमूना दिएपछि लामो समय पर्खनुपर्ने अवस्था अन्त्य भएको छ।’

हप्तामा एक दिन नमूना लिने र नमूना सङ्कलन गरेको एक हप्ताभित्रमा सम्बन्धित बिरामीलाई रिपोर्ट उपलब्ध गराउने प्रयोगशालाले जनाएकाे  छ। परीक्षणका लागि बिरामीले शुल्क तिर्नुनपर्ने बताइन्छ।

गण्डकीमा दुई हजार ८०० को हाराहारीमा एचआइभी बिरामी रहेकोमा एक हजार २०० ले नियमित औषधि सेवन गर्ने गरेको बताइन्छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार