Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दमौली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने मुख्यमन्त्रीकाे प्रतिबद्धता

दमौली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने मुख्यमन्त्रीकाे प्रतिबद्धता

तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दमौली अस्पतालकाे स्तरवृद्धि गरी प्रादेशिक अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले अस्पतालको भौतिक एवं अन्य विकासको लागि प्रदेश सरकारले तत्काल तीन करोड रूपैयाँ विनियोजन गर्ने बताए।

दमौली अस्पताल व्यवस्थापन समितिले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले अस्पतालको स्तरोन्नतिको गरी प्रादेशिक अस्पताल बनाउने बताए। अस्पतालको बारेमा विस्तृत अध्ययन गर्न तत्काल प्राविधिक टोली पठाउने भन्दै मुख्यमन्त्री गुरुङले प्राविधिकको प्रतिवेदनपछि थप आवश्यक पूर्वाधारको व्यवस्था गर्न सहज हुने धारणा राखे।

छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, प्रतिनिधिसभाका सांसदद्वय केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ ‘किसान’, नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेशसभा सांसद आशा कोइराला, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत सहभागी थिए। कार्यक्रममा अस्पतालका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालको बारेमा जानकारी गराए।

१५ शय्या क्षमताको अस्पतालबाट हाल ४२ शय्यामा सेवा प्रवाह भइरहेको छ। सरकारीतर्फ २४ जना दरबन्दी भएपनि १८ जना मात्रै कार्यरत रहेको र अस्पताल विकास समितिमार्फत् ३३ जना कर्मचारी अस्पतालमा कार्यरत छन् । अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुई मेडिकल अधिकृत, पाँच स्टाफ नर्स\अनमी, तीन एचए, एक रेडियोग्राफर, दुई ल्याब टेक्निसियन\असिस्टेन्ट, दुई प्रशासनतर्फ कर्मचारी र दुई कार्यालय सहायक छन्।

अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा प्रदान गर्दै आइरहेको छ। १५ रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुनसकेको छैन।

याे अस्पताल २०३४ मा स्वास्थ्यचौकीको रूपमा स्थापना र ०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्तरोन्नति भएको थियाे। ०५९ मा अस्पतालको रूपमा स्तरोन्नति भएको थियो। ०७२ मा अस्पतालको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएको थियो। सोही वर्ष अस्पतालमा डायलोसिस सेवा शुरु गरिएको थियाे। यस्तै ०७३ मा मानसिक उपचार केन्द्र स्थापना गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि