‘आफूलाई क्यान्सर लागेपछि देखेको अस्पताल खोल्ने सपना पूरा भयो’
काठमाडौं/हेल्थ टिभी अनलाइन : पछिल्लो समय अस्वस्थकर खानपान, निष्क्रिय जीवनशैली, प्रदूषणलगायतका कारण क्यान्सर घरघरको समस्या बनेको छ।
यो वेला काठमाडौं बाहिर झापाको बिर्तामोडमा ठूलो लगानीमा क्यान्सरमै विशिष्टीकृत अस्पताल खुलेकाे छ। पूर्वाञ्चल क्यान्सर अस्पताल पूर्वाञ्चल मात्रै होइन देशकै सुविधासम्पन्न एवं अत्याधुनिक स्तरकाे छ।
पूर्वाञ्चलका क्यान्सरका बिरामी यसअघि भारतको सिलगुडी वा काठमाडौं आउनुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादव बताउँछन्। उनले भने, ‘अस्पतालको शुरुवातसँगै अब ९९ प्रतिशत बिरामी भारत जानुपर्ने बाध्यताबाट मुक्त भएका छन्’, उनले भने, ‘अस्पताल खुल्छ र यहीँ उपचार गरौँला भनेर महिनौँदेखि नाम टिपाएका मात्रै ४० बढी क्यान्सरका बिरामी छन्।’
पूर्वाञ्चलमा ४ अर्बको लगानीमा सुविधासम्पन्न अस्पताल खोल्ने आँट गरेका हुन् बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईँले। आफूलाई जिब्रोको क्यान्सर भएपछि उनले यहाँ उपचार गर्ने वातावरण पाएनन्। उनी भारत पुगे। पटकपटक भारत गएर उपचार गनुपर्ने झञ्झट र महंगो शुल्कको मार उनले राम्ररी बुझेका छन्। त्यसैले उनले नेपालमै सुविधासम्पन्न क्यान्सर अस्पताल खोल्ने निधो गरे। सोहीबमोजिम गत बुधबार अत्याधुनिक मेडिकल उपकरणसहितको देशकै ठूलो क्यान्सर अस्पतालले सेवा आरम्भ गर्यो।
अस्पतालले सेवा दिन थालेसँगै प्रसाईँले आफूलाई क्यान्सर लागेपछि देखेको सपना पूरा भएको बताए। ‘मलाई क्यान्सर हुँदा मैले भारत गएर उपचार गर्न सकेँ’, उनले भने, ‘यहाँ त्यस्ता धेरै बिरामी छन्, जो क्यान्सरको एक डोज किमोको पैसा पनि तिर्न सक्दैनन्, उनीहरुका लागि हो यो अस्पताल।’ पैसा नभएका कारण उपचार नपाएर कोही पनि क्यान्सर बिरामी नमरुन् भनेर अस्पताल खोलेको उनले बताए।
पूर्वाञ्चल क्यान्सर अस्पतालमा बिरामी आए पछि कुनै पनि सेवाका लागि बाहिर जान नपर्ने गरी सेवा बिस्तार गरिएको डा. यादवले बताए। यहाँ उपचारका लागि जो बिरामी आउँछन्, उनीहरूका लागि किमो, शल्यक्रिया, रेडियोथेरापी, पेट स्क्यान लगायतका अन्तर्राष्ट्रिय स्तरका सम्पूर्ण सेवा उपलब्ध हुने उनको भनाइ छ। ‘पेट स्क्यान मेसिन काठमाडौंका महंगा अस्पतालले समेत ल्याउन सेकेका छैनन्’, उनले भने, ‘नेपाल भित्रिएको यो नै पहिलो अत्याधुनिक पेटस्क्यान मेसिन हो यो।’
क्यान्सरका एक बिरामीलाई निशुल्क रेडियोथेरापी दिएर शुरु भएको अस्पतालमा शुरुकै दिनदेखि बिरामीको घुइँचो लागेको छ। आठ वर्षको छोराको घाँटीको क्यान्सरको उपचारका लागि अस्पताल आएका पाँचथरका सुरेश मगरले फलोअपका लागि काठमाडौं जान नपरेकोमा खुशी व्यक्त गरे। ‘भक्तपुर क्यान्सर अस्पतालमा देखाइरहेको थिएँ’ शल्यक्रिया गर्ने भनेको छ’, उनले भने, ‘यहीँ अस्पताल खुल्दैछ भन्ने थाहा पाएर कुरेर बसेको थिएँ। त्यसैले आजै आइहालेँ।’
प्रसाईँले यसअघि नै ३०० शय्याको बी एण्ड सी अस्पताल चलाइरहेका छन्। क्यान्सर अस्पतालमा पनि ३०० शय्या नै छ। यसमा ५० शय्या आईसीयू नै छन्। काठमाडौं बाहिर यति सुविधासम्पन्न अस्पताल रहेको यो नै पहिलो भएको प्रसाइँ बताउँछन्।
आफूलाई कतिपय मिडियाले ‘मेडिकल माफिया’ भन्ने गरेको प्रसंग प्रसाईँले उठाए। ‘बिरामीका लागि बैंकबाट ऋण लिएरै अस्पताल खोल्ने मान्छे माफिया हुन्छ भने म माफिया नै हुँ’, उनले भने। आफूले नेपालमा बसेर नेपालीका लागि सेवा गरिरहेको दाबी गरे। ‘बिरामीको सेवा गर्ने उद्देश्यले अस्पताल खोलेको छु। सेवा पनि दिइहरेको छु। म कसरी माफिया?’ उनले प्रश्न गरे।
आफूलाई क्यान्सर लागेपछि देखेको अस्पताल खोल्ने सपना पूरा भएकाे प्रसाईँले बताए। ‘म क्यान्सर लागेको मान्छे कति नै बाँचुला र’, उनले भने, ‘तर यो अस्पतालले नेपालीको सेवा गरिरहोस् भन्ने मेरो चाहना हो।’





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित