बिरामी अस्पताल लैजान एम्बुलेन्स छैन, नेतालाई ४० लाखको गाडी?
तम्घास : गाउँका कोही बिरामी परे कि त भाडाकै गाडी खोज्नुपर्छ, कि त शान्तिपुरबाट एम्बुलेन्स मगाउनुपर्छ। नियमित चल्ने सवारीसाधनमा अक्सिजन हुँदैन। शान्तिपुरबाट एम्बुलेन्स आउन डेढ घण्टा कुर्नुपर्छ, जसले गर्दा बिरामीहरूलाई निकै समस्या पर्छ।
यो समस्या गुल्मीको सत्यवती गाउँपालिकाका नागरिकले खेप्दै आएका छन्। स्थानीय तहको निर्वाचन भएको तीन तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको दुई वर्ष भइसक्दा पनि जनप्रतिनिधिले आफ्ना नागरिकका लागि एम्बुलेन्स खरिद गर्न सकेका छैनन्।
सत्यवती गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, सातवटा स्वास्थ्य चौकी र छ वटा सामुदायिक स्वास्थ्य केन्द्र गरी १४ स्वास्थ्य संस्था छन्। तर तीमध्ये कुनैमा पनि एम्बुलेन्स नभएको गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्यबहादुर रानाले बताए। कोही बिरामी परे गाडीमा बढी भाडा तिरेर पठाउनुपर्ने बाध्यता रहेको उनले सुनाए। अधिकांश बिरामी स्थानीय गाडीमा जाने र अत्यावश्यक परे मजुवा तथा शान्तिपुरबाट एम्बुलेन्स बोलाउने गरिएको उनले जानकारी दिए।
जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र जिल्लाकै उत्कृष्ट स्वास्थ्य केन्द्रअन्तर्गत पर्दछ । जिल्लामै पहिलो पटक सर्पदंशको जाँच तथा डेङ्युको परीक्षण जुहाङ्गमा हुन्छ । त्यसका साथै ५८ प्रकारका निःशुल्क र अन्य सःशुल्क गरी झण्डै ८० प्रकारका सेवा केन्द्रले प्रदान गर्छ तर हालसम्म पनि ‘संस्थाको एम्बुलेन्स नहुँदा सेवा प्रवाहमा कठिनाइ छ। ‘गाउँपालिका र मन्त्रालयमा धेरै पटक धाएँ, तर उपलब्धि छैन’,केन्द्रकी प्रमुख डा. शिला ढकालले भनिन्, ‘गाउँबाट केन्द्रसम्म ल्याउने र यहाँबाट रिफर गर्नुपर्ने बिरामीलाई निकै समस्याछ।’
सत्यवती गाउँपालिकाले गत आर्थिक वर्षमा लु १ झ ४३९ नम्बरको डबल क्यापसहितको स्कार्पियो किन्यो। ४० लाख एक हजार १७२ रुपैयाँमा किनेको एसीसहितको स्कार्पियोमा गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललगायत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले रजाइँ गर्छन् तर जनताको करबाट नेतालाई गाडी किन्दा नागरिकलाई भने एम्बुलेन्ससम्म पनि खरिद गरिएको छैन।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष ढकालले गत वर्ष एम्बुलेन्सको लागि गाउँपालिकाले १२ लाख छुट्याए पनि महेन्द्र कम्पनीको एम्बुलेन्स बन्द भएको कारण ल्याउन नपाएको बताए । यो वर्ष प्रदेश सरकारले पनि सहयोग गर्ने आश्वासन दिएकोले एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले छ लाख रुपैयाँ विनियोजन गरेको ढकालले दाबी गरे।
रासस





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित