सामाजिक सुरक्षा कोष र चार अस्पतालबीच समझदारी
काठमाडौं : सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी योगदानकर्तालाई स्वास्थ्योपचार सुविधा प्रदान गर्न पहिलो चरणमा चार अस्पतालसँग समझदारी (एमओयू) गरेको छ।
कोषले काठमाडौँको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पताल, चाबहिलस्थित हेल्पिङ हेण्ड्स अस्पताल, जोरपाटीको नारायणटारस्थित शंखरापुर अस्पताल र सिन्धुपाल्चोकको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालसँग एमओयू गरेको हो। बुधबार आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र सम्बन्धित अस्पतालका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सामाजिक सुरक्षामा सामेल भएका योगदानकर्ताको स्वाथ्योपचारसम्बन्धी सेवा ती अस्पतालले प्रदान गर्नेछन्। अर्को सातादेखि देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालसँग योगदानकर्ताको स्वास्थ्योपचार गर्नेसम्बन्धी समझदारी गरिने कोषका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए। स्वास्थ्य बीमा बोर्डको उपचारसम्बन्धी दरलाई नै आधार मानेर ती अस्पतालसँग समझदारी गरिएको हो।
सो अवसरमा कोषका कार्यकारी निर्देशक ज्ञवालीले योगदानकर्तालाई सहज रूपमा सेवा उपलब्ध गराउन मुलुकका सबै अस्पतालसँग समझदारी गरिने बताए। योगदानकर्ताको औषधोपचारको खर्च दाबी गर्ने प्रक्रियालाई पनि अनलाइन प्रणालीमा लगिएको उनले बताए।
कार्यक्रममा शङ्खरापुर अस्पतालका निर्देशक डा. रमेश ढकालले सामािजक सुरक्षा कार्यक्रम अत्यन्त सकारात्मक रहेको उल्लेख गर्दै निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्नुपर्ने बताए। उनले स्वास्थ्य उपचारको दरलाई समयानुकूल समायोजना गरेर जान कोषलाई सुझाव दिए।
सरकारले गत मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो। सो योजना गत साउन १ गतेदेखि पूर्णरूपमा कार्यान्वयनमा आएको छ । यसअवधिमा योजनामा सहभागी भएर मृत्यु भएका दुई योगदानकर्ताका परिवारले आर्थिक सहायता प्राप्त गर्दै आएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित