Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

झापाको बिर्तामोडमा खुल्यो ३०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल

झापाको बिर्तामोडमा खुल्यो ३०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल

बिर्तामोड : पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लक्ष्य गर्दै झापामा ३०० सय शय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आएको छ।

बिर्तामोडस्थित बीएण्डसी अस्पताल परिसरभित्रै अत्याधुनिक उपकरणसहित अस्पताल सञ्चालनमा आएको हो।

ठूलो आन्द्राको क्यान्सर भएका एक बिरामीलाई निःशुल्क ‘रेडियसन थेरापी’ दिएर बुधबार उपचार सेवा आरम्भ गरिएको हो।

बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका हुन्। पूर्वाञ्चल क्षेत्रमा क्यान्सरको उपचार हुने यो नै पहिलो अस्पताल बनेको छ।

सुदूरपूर्वमा क्यान्सर को उपचार गर्न बिरामी काठमाडौं, चितवन र भारतको सिलिगुडी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न अस्पताल सञ्चालनमा ल्याएको प्रसाईँले बताए। उनले आफूलाई क्यान्सर भएपछि भारतमा उपचार गराउन जाने क्रममा कठिनाइ भोगेपछि सुविधासम्पन्न क्यान्सर अस्पताल खोल्ने सपना देखेको सुनाए।

अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्रकुमार यादवले पूर्वाञ्चल क्यान्सर अस्पताल झापावासीकाे वर्षाैँदेखिकाे सपना भएको बताए। लामो समय भारतको मेदान्ता अस्पतालमा काम गरेका उनले प्रत्येक तीनजनामध्ये एक नेपाली क्यान्सरको बिरामी भएको दाबी गरे।

अर्थाेपेडिक सर्जन डा. निराजनप्रसाद पराजुलीले क्यान्सरका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको बताए। यसले काठमाडौं बाहिर पनि क्यान्सरकाे उपचार सम्भव भएको सन्देश जाने उनको भनाइ छ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गाइने अंकोलोजिष्ट डा.गेहनाथ बरालले अस्पतालमा क्यान्सरको पुरै उपचार गर्न जनशक्ति र उपकरण भएको बताए।

अस्पतालमा रेडियोथेरापी मेसिन, पेट स्क्यान, थ्रीडी मेमोग्राम लगायत अत्याधुनिक मेसिनबाट सेवा समेत उपलब्ध गराइने बताइएको छ। करिब चार अर्बको लगानीमा अस्पताल निर्माण भएको जानकारी कार्यक्रममा दिइयो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार