Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एपी क्याटको पाँचौ सम्मेलन आगामी वर्ष डिसेम्बरमा, भरतपुर महानगरले गर्ने

एपी क्याटको पाँचौ सम्मेलन आगामी वर्ष डिसेम्बरमा, भरतपुर महानगरले गर्ने

चितवन : एसिया प्यासिफिक सिटिज अलायन्स फर टोबाको कन्ट्रोल एण्ड एनसीडीज प्रिभेन्सन ‘एपी क्याट’को पाँचौ सम्मेलन चितवनको भरतपुरमा हुने भएको छ। आइतबार भरतपुर महानगरपालिकामा भएको बैठकले आगामी वर्ष डिसेम्बर १–३ मा सम्मेलन गर्ने निर्णय गरेको हो।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालको अध्यक्षतामा बसेको बैठकले भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको पाँचौ एपी क्याट सम्मेलनको मिति घोषणासँगै कार्यक्रमको तयारी पनि शुरु भएको घोषणा गरेको छ।

द युनियनको आह्वानमा नसर्ने रोग र यसको प्रमुख कारक मानिएको सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न एसिया प्रशान्त क्षेत्रका १२ देशका नगर एवं महानगर प्रमुखहरूको अलायन्स बनाइएको छ। त्यसमा नेपालबाट भरतपुर महानगर पनि सदस्य छ।

चौथो सम्मेलन इन्डोनेसियाको बोगोर नगरले आयोजना गरेको थियो। सम्मेलनमा भरतपुरकी महानगर प्रमुख दाहालले पाँचौँ एपी क्याट सम्मेलन भरतपुरले आयोजना गर्ने बताएकी थिइन्। सोही बमोजिम आइतबार पाँचौँ सम्मेलनको मिति तय भएको हो।

बैठकमा दाहालले नेपाल भ्रमण वर्ष २०२० मा भरतपुरले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी सिटिज अलायन्सको सम्मेलन गर्न पाउनु ठूलो अवसर भएको बताइन्। त्यसका लागि महानगरले गर्नुपर्ने कार्यक्रमका लागि तयार भएको उनको भनाइ छ। ‘भरतपुरलाई स्मोक फ्री सिटी बनाउने यो एउटा ठूलो अवसर हुनेछ’, उनले भनिन्, ‘यसमा सबैको साथको अपेक्षा गरेकी छु।’ उनले भरतपुरलाई स्मोक फ्री बनाउन कुनै कसर बाँकी नराख्नेमा पनि जोड दिइन्।

द युनियन एसिया प्रशान्त क्षेत्रका उपमहानिर्देशक डा. तारासिंह बमले नगर कस्तो बनाउने भन्ने जिम्मा प्रमुखमा भर पर्ने बताए। उनले सबैलाई रोगी बनाउने सुर्तीजन्य पदार्थ बन्देज गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

बैठकमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई एवं चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले पनि मन्तव्य राखेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार