Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आँखाको नानी स‌ंकलन र प्रत्यारोपण, दृष्टिविहीनलाई वरदान

आँखाको नानी स‌ंकलन र प्रत्यारोपण, दृष्टिविहीनलाई वरदान

काठमाडौ‌ं : तिलगंगा आँखा प्रतिष्ठान, नेपाल आँखा बैंकले शुरु गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित भएको छ।

बैंकमा हालसम्म ७५ हजारभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन्। झण्डै १५ हजार जनाले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन्। पछिल्लो समयमा आँखादान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको प्रतिष्ठानले जनाएको छ।

आँखाको नानीमा संक्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा र अज्ञानताको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रिने सम्भावना बढी हुन्छ। नेपालमा दृष्टिविहीन हुनुको पहिलो कारण मोतिविन्दु हो भने दोस्रो कारण आँखाको नानी बिग्रिएर हो।

दृष्टिविहीनताको एकमात्र उपचार आँखाको नानी प्रत्यारोपण गरी पुनःदृष्टि दिलाउनु नै रहेको प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ बताउँछिन्। ‘नेपालमा आँखाको नानीका कारण दृष्टिविहीन भएका थुप्रै व्यक्ति छन्, जो पुनः यो संसार नियाल्ने पर्खाइमा छन्’, उनी भन्छिन्, ‘त्यस्ता व्यक्तिका लागि तपाईँ हामीले मृत्युपश्चात आँखादान गरिदिने हो भने एक दाताको आँखादानबाट दुईभन्दा बढी दृष्टिविहीनले यो संसार पुनः देख्न पाउँछन्।’

विभिन्न कारणवश आँखाको नानी बिग्रिएर दृष्टिविहीन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैंकको स्थापना भएपछि नेपालमा पनि यो सेवा सहज भएको हो।

बैंकले आँखाको नानी दान गर्ने दाताबाट मृत्युपश्चात नानी संकलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गर्छ। प्रमुख कार्यकारी अधिकृत डा गुरुङले अहिले धेरै मानिसको आँखा दानप्रति सकारात्मक सोचको कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर रहेको बताइन्।

शुरुआती चरणमा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाउँमा गएर आँखा दानसम्बन्धी जनचेतना जगाई यसबारेमा बुझाउने गरिन्थ्यो। अहिले आर्यघाटमा विद्युतीय शव दाह गृहलगायत काठमाडौँमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र पाटन अस्पतालमा आँखा बैंकबाट खटाइएका परामर्शदाताले  दिने गर्छन्। यसले गर्दा आँखादान गर्नेको संख्या बढ्दो क्रममा रहेको बैंकका मेडिकल डाइरेक्टर डा. लीना बज्राचार्यको भनाइ छ।

त्यस्तै स्थानीय आँखा अस्पताल मेची, विराटनगर, लाहान, हेटौँडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी स‌ंकलन केन्द्र स्थापना भई आँखाको नानी स‌ंकलन गरिरहेको प्रतिष्ठानले जनाएको छ।

नेपाल आँखा बैंकले आँखा बैंकको अन्तरराष्ट्रिय महासंघ तथा दृष्टि जीवनले निर्धारण गरेको मापदण्ड पूरा गरी अन्तरराष्ट्रिय गुणस्तर कायम राखेको जनाएको छ। बैंकमा आँखाको नानी शुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने हाल आँखाको नानी देशभित्रबाटै स‌ंकलन गरी स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपलब्ध गराइन्छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार