जनस्वास्थ्य विज्ञहरूले घाेषणा गरे ‘पत्रु खाना’ बहिस्कार अभियान
काठमाडौं : जनस्वास्थ्य विज्ञहरूले पत्रु खाना (जंक फुड) बहिस्कार अभियान शुरु गर्ने भएका छन्। विषेशगरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारिरहेकाे पत्रुखाना सबैले बहिष्कार गर्नुपर्ने भन्दै उनीहरूले अभियान चलाउन लागेका हुन्।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा. रिता थापाले पत्रु खानाबारे सबै सचेत हुनुपर्ने बताइ्न्। पत्रु खानाले अभिभावकमा आर्थिक भार थप्नुका साथै बालबालिकामा कुपोषण निम्त्यारहेको दाबी गरिन्।
‘बजारमा सजाएर राखिएका आलुचिप्स, चाउचाउ, चाउमिन, कोक फेन्टा जस्ता खाना र पेय पदार्थले बालबालिकालाई सानै उमेरदेखि रोगको दलदलमा पारिरहेको छ’, डा. थापाले भनिन्, ‘यसको असरबारे आमाबाबु बढी सचेत हुनुपर्छ।’
उनले चाउचाउमा पौष्टिक तत्त्व हाल्ने भन्ने प्रसंग निकाल्दै पत्रु खानामा पौष्टिक तत्त्व थपेर बेच्छौँ भन्नु सुँगुरलाई लिपिष्टिक लगाएर राम्रो बनाउँछौ भन्नु जस्तै रहेको बताइन्। यसविरुद्ध अब सम्पूर्ण जनस्वास्थ्य विज्ञ एकजुट भएर लाग्ने पनि थापाले बताइन्।
कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले पत्रु खानाले कसैलाई पनि फाइदा नपुग्ने भन्दै यसको प्रयोग नगर्न आग्रह गरिन्। बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि उनीहरूलाई पत्रुखानाबाट टाढै राख्नुपर्ने उनले बताइन्।
‘चाउचाउ खाएर कुनै पनि पौष्टिक तत्त्व पाइँदैन भन्ने कुरामा सचेत हुनुस्’ उनले भनिन्, ‘हाम्रा पुर्खाले भान्सामा जे पकाएर खाए त्यो नै हाम्रा लागि पौष्टिक खानेकुरा हो।’ बजारिया खानेकुराको साटो बरु घरमै बनेका हलुवा–रोटी–तरकारी, चना–चिउरा र मकै–भटमास जस्ता खानेकुरामा जोड दिन उनले आग्रह गरिन्।
पत्रुखानाकै कारण नेपालमा सानै उमेरदेखि बालबालिकामा मधुमेह, मिर्गौलाको समस्या एवं मुटुको रोग देखिन थालेको पनि विज्ञहरूले बताए। उनीहरूले पत्रु खानाविरुद्ध अभियानका लागि हस्ताक्षर समेत गरेका छन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै