विपन्नलाई सहुलियतमा उपचार सेवा
पश्चिम नवलपरासी : पृथ्वीचन्द्र अस्पताल परासीले विपन्न नागरिकलाई सहुलियतमा उपचार सेवा शुरु गरेको छ। अस्पतालले छुट्टै सामाजिक सेवा एकाइ स्थापना गरी विपन्न नागरिकलाई सहुलियतमा उपचार सेवा प्रदान गर्न शुरु गरेको हो।
एकाइबाट विपन्न, अशक्तलगायत १२ प्रकारका लक्षित वर्गले निःशुल्क वा आर्थिक अवस्थाअनुसार छुटमा उपचार सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले जानकारी दिए।
अध्यक्ष चौधरीले आधारभूत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको हक सुनिश्चित गर्न यो सेवा प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।
प्रदेश सरकारको सहयोगमा शुरु गरिएको यो सेवाका लागि सामाजिक सेवा एकाइमा दुई सहजकर्ताको व्यवस्था गरिएको छ। सहजकर्ताले बिरामीको अवस्था हेरी निःशुल्क वा सहुलियतमा उपचार गर्न सिफारिस गर्ने अस्पतालका प्रमुख डा. मोहम्मद नुरुल होदाले बताए। इन्द्रेणी सामाजिक विकास मञ्चको साझेदारीमा शुरु गरिएको यो एकाइबाट गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैंगिक हिंसापीडित तथा महिला स्वास्थ्य स्वयंसेविकाले सहुलियतमा उपचार सेवा पाउन थालेका हुन्।
यसैगरी प्राकृतिक प्रकोपबाट पीडित, शहीद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजातिलाई अस्पतालले सहुलियतमा उपचार सेवा प्रदान गर्ने बताइएको छ।
जिल्लाकै पुरानो जिल्ला अस्पतालको रूपमा रहेको पृथ्वीचन्द्र अस्पतालमा नौजनाको विशेषज्ञ दरबन्दी रहे पनि हाल ६ विशेषज्ञसहित ५० शय्यामा सञ्चालित रहेको अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले जानकारी दिए। सामाजिक सेवा एकाइमार्फत उपचार सेवा प्रदान गर्न यस वर्ष आठ महिनाका लागि बजेट प्राप्त भएको उनले बताए।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै