Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शीतलहरको सकस : चिसो बढेपछि विद्यालय बन्द

शीतलहरको सकस : चिसो बढेपछि विद्यालय बन्द

महोत्तरी : दिनभरि लगातार चिसो स्याँठ चलेर जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

जाडो निकै बढेर ससाना नानीलाई विद्यालय जान सकस परेपछि नगरक्षेत्रका आधारभूत र माध्यमिक गरी १६ वटै विद्यालय शुक्रबारदेखि सोमबारसम्मका लागि बन्द गरिएका हुन्। बिहीबार नगर कार्यपालिकाको शिक्षा शाखाले विद्यालय बन्द गर्ने निर्णय गरेको शाखा प्रमुख ज्ञानेन्द्र यादवले जानकारी दिए। त्यसपछिको अवस्था हेरेर थप निर्णय गरिने शाखाले जनाएको छ।

विद्यालय बन्द गर्नसँगै औरही नगरपालिकाले गरिब र विपन्न बस्तीमा आगो ताप्न सुकेका मुडा वितरण पनि थालेको छ। प्रथम चरणमा अत्यन्त गरिब मुसहर समुदायको बसोबास रहेका बस्ती र मानिसको बढी चहलपहल हुने सार्वजनिक स्थलमा मुडा बालेर धुनी लगाइएको औरहीका नगरप्रमुख सुनिलकुमार यादवले बताए। जिल्लाका १५ वटै स्थानीयतहले चिसोबाट धेरै प्रभावितको पहिचान गरी तत्कालीन राहत पुर्याउने तयारी गरिरहेका जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए।

जिल्लाका अन्य क्षेत्रमा पनि धमाधम मुडा सल्काएर धुनी लगाइँदैछन्। जिल्लाको लोहारपट्टि नगरपालिकाले पनि आफ्नो नगरक्षेत्रका बस्तीमा मुडा पुर्याएर धुनी सल्काइएको नगरप्रमुख शैलेन्द्र यादवले जानकारी दिए। विद्यालय बन्द गर्नेबारे भोलि शनिबार दा नै हुँदा मौसमको अवस्था हेरेर निर्णय गर्ने लोहारपट्टि नपाको तयारी छ।

एक साताअघि पानी परेपछि बढ्दै गएको जाडो गत मंगलबार बिहानदेखि नै चिसो सिरेटो लगातार चल्न थालेपछि महोत्तरीका गाउँनगर बस्ती अत्यन्त प्रभावित भएका छन्। अहिले जिल्लाको मध्य र दक्षिणी भेगमा दिनहुँ बाक्लो हुस्सुसमेत लाग्ने गरेको छ।

तुषारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्किन नसकेपछि बजारमा चहलपहल घटेको छ। एक सातादेखिको चिसोले बन्द व्यापार मात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन्। लगातारको चिसो सिरेटोले घरपालुवा पशुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको महोत्तरीका पशुपालक किसानको भनाइ छ।

बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन्। दैनिक ज्यालादारी गरेर गुजारा गर्न पर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ।

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी महिला र ससाना नानीहरुको स्याहारसम्भार कठिन भएको छ। घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर ओरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन्। अहिले जिल्लाका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन्।

आफ्नै घर वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन्। यसैगरी फोहर कपडा, मिल्किएका कसिंगर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले बताए। आगो बालिएको ठाउँबाट निस्कने धुँवाले बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने डा. झाको भनाइ छ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउन स्थानीय तहसँग सामाजिक संघ संस्थाले आग्रह गरेका छन्।

प्रतीकात्मक तस्विर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार