Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भक्तपुरमा पनि रगत अभाव

भक्तपुरमा पनि रगत अभाव

भक्तपुर : काठमाडाैं र ललितपुरमा रगत अभाव हुँदा मानिसहरू भक्तपुर आउँथे। ‘रगत नपाए भक्तपुर जानु’ भनिन्थ्याे। तर अचेल यहाँ रगत अभाव हुन थालेको छ। जिल्लामै जटिल रोगको उपचार हुने अस्पतालमध्ये शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पतालबाट मात्रै दैनिक बिरामी रगत लिनका लागि रेडक्रसको रक्तसञ्चार केन्द्रमा भौँतारिने गरेका छन् ।

त्यसमाथि पनि जिल्ला अस्पताल र निजी अस्पतालबाट थप रगत लिन आउने बिरामी मात्रै नभई उपत्यका तथा बाहिरी जिल्लाबाट आपत्कालीन रूपमा रगत लिनका लागि आउने बिरामीले चाहिए जति रगत नपाउँदा बिरामीको ज्यान नै जोखिममा पर्ने बताउँछन्।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रमा धरानदेखि रगत लिन आएका दीपक थापाले रगत नपाएर राजधानीमा भौँतारिँदा बिरामीको ज्यान नै जोखिममा परेको बताए। उनी अर्बुद रोग भएका आफन्तका लागि पाँच पिन्ट रगत लिन काठमाडाैं आएका हुन् । रक्त सञ्चार केन्द्र काठमाडौँमा एक पिन्ट मात्रै पाएपछि थप रगतका लागि उनी भक्तपुर आए। यहाँ पनि दुई पिन्ट रगत मात्रै पाएकाले रगत खोज्दाखोज्दै बिरामीको ज्यान जाने चिन्तामा थिए उनी।

वीरअस्पतालबाट रगत लिन आएका राम कार्कीले तत्काल शल्यक्रिया गर्न रगत माग भएपछि काठमाडौँमा नपाएर भक्तपुर आएको बताए। आफ्ना बिरामीको तत्काल शल्यक्रिया गर्न चाहिने रगत लिन भक्तपुर पुग्दा पनि रगत नपाएपछि नेपाल रेडक्रस सोसाइटीले दुईजना दातालाई बोलाएर रगत झिकेर पठाए पनि अझै दुई पिन्ट रगत नपुगेको उनले बताए।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोजकुमार थापाले मागअनुसारको रगत पुग्ने गरी दिन नसके पनि भक्तपुर आउनेलाई रित्तो हात भने नफर्काएको दाबी गरे। अत्यावश्यक र आपत्कालीन अवस्थाका बिरामीका हकमा भने रेकर्डमा रहेका रक्तदातालाई तत्काल बोलाएर रक्तदान गर्न लगाई रगत दिएर पठाउने गरेको थापाको भनाइ छ।

रक्तदान कम हुने, दुर्घटनाका घाइते र अन्य बिरामीको संख्या बढ्ने भएकाले रगतको अभाव चुलिएको उनकाे भनाइ छ। दैनिक रक्तदान कार्यक्रम राख्दा पनि रगतको माग पूरा गर्न नसकेको थापाले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार