Health TV Online
Health TV Online
Health TV Online

मेडिकल टुरिजम एसिया समिट पुस ११ गतेदेखि काठमाडौंमा

मेडिकल टुरिजम एसिया समिट पुस ११ गतेदेखि काठमाडौंमा

काठमाडौं : दोस्रो मेडिकल टुरिजम एसिया समिट काठमाडौंमा हुने भएको छ।

यही पुस ११ गते शुरु हुने सम्मेलनमा विभिन्न मुलुकका डाक्टर, जनस्वास्थ्य विज्ञ, अस्पतालका प्रतिनिधि, स्वास्थ्य व्यवसायी गरी दुई हजार बढीको सहभागिता रहने कार्यक्रमका संयोजक एवं नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनका प्रबन्ध निर्देशक अर्जुन चन्दले बताए ।

नेपालमा मेडिकल टुरिजमको विकासका लागि एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्स तथा नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनले सम्मेलन आयोजना गर्न लागेको हो।

होटल याक एण्ड यतीमा दुईदिन चल्ने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, म्यान्मार जर्मनी र अमेरिका लगायतका विशेषज्ञ डाक्टर, स्वास्थ्य व्यवसायी, अस्पतालका प्रतिनिधी तथा स्वास्थ्य प्राविधिकहरूको जमघट हुनेछ। सम्मेलनले विभिन्न देशमा भएका नयाँ नयाँ उपकरण, प्रविधि, ज्ञान र सिप आदानप्रदान गर्न मद्दत गर्ने आयोजकको विश्वास छ।

नेपालमा मेडिकल टुरिजमको निकै सम्भावना हुँदाहुँदै पनि विदेशीलाई त्यसतर्फ आकर्षित गर्न नसकिएको आयोजक चन्दले बताए। ‘उनीहरूलाई नेपालमै उपचार गराइ मेडिकल टुरिजममा टेवा दिन सक्छौँ भनेर यो सम्मेलन गर्न लागेका हौँ’, संयोजक चन्दले भने। उपचारका लागि विदेश धाउनेलाई रोक्ने उपायबारे पनि छलफल चलाउने उनको भनाइ छ।

नेपालीलाई उपचारका लागि बाहिरिन नदिन र विदेशीलाई यहाँ ल्याउन सेवा कसरी चुस्त दुरुस्त राख्ने भन्ने कुरामा अन्तरािष्ट्रय अस्पताल तथा संस्थासँग छलफल चलाउने र उनीहरूसँग सहकार्य गर्ने उनले बताए। ‘हाम्रो मुख्य उद्देश्य भनेकै नेपालमा आउने पर्यटकले विभिन्न स्वास्थ्य प्याकेज मार्फत उपचार लिन सकून् भन्ने हो’, उनले थपे, ‘यस्ता एरिया के के छन् सम्मेलनमा छलफल हुनेछ।’

सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा हुन लागको मेडिकल टुरिजम समिटले पर्यटकहरूलाई स्वास्थ्य सेवाका प्याकेज प्रदान गरी उनीहरूको बसाइँ लम्ब्याउन पनि सहयोगी बन्न सक्ने आयोजक संस्थाको विश्वास छ। यसले भ्रमण वर्ष २०२० सफल पार्न केही भूमिका खेल्ने आयोजकको दाबी छ।

सम्मेलनमा स्वदेशी र विदेशी विज्ञका गरी स्वास्थ्यका विभिन्न विषयमा १८ वटा कार्यपत्र प्रस्तुत हुनेछन्। साथै ‘बि टु बी’ बैठक समेत हुनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार